काठमाडौं, २० फागुन–नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र मतभेद् रहे पनि एकताको विकल्प नभएको बताएका छन् । संसदबाट एमसीसी अनुमोदन भएपछि बढेको असन्तुष्टीकै कारण पार्टी फुटको संघारमा पुगेको अनुमान चलिरहेका बेला नेता श्रेष्ठले यस्तो बताएका हुन् ।
राष्ट्रिय सभागृहमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले पार्टीभित्र फरक मत राखिने तर यसलाई फुटको संज्ञा दिन नमिल्ने बताएका छन् ।
नेता श्रेष्ठले अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदनका लागि समर्थन गरेर पार्टीले गलत गरेको बताएका छन् । नेता श्रेष्ठले राष्ट्रघाती निणर्यले दूरगामी असर गर्ने पनि बताएका छन् । उनले अमेरिकाको सुरक्षा छाताभित्र जानु खतराको संकेत भएको पनि बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । नेता श्रेष्ठले यसले सन् १९५० को शान्ति तथा मैत्री सन्धीको अर्को रुप भएको समेत बताए ।
करिब सवा घण्टा बोलेका नेता श्रेष्ठले एमसीसी अनुमोदनले अमेरिकी नवउपनिवेशलाई निमन्त्रणा दिएको टिप्पणी गरेका छन् । श्रेष्ठको भनाइ उद्धृत गर्दै नेता देव गुरुङले सञ्चारकर्मीहरुसँग भने, ‘नारायणकाजी ज्यूले एमसीसी राष्ट्रिय हित प्रतिकूल छ भन्ने धारणा राख्नुभयो ।
पार्टीभित्र मतभेद् हुन्छ ती मतभेद्लाई समयक्रममा व्यवस्थापन गर्दै समझदारीमा पुग्नुपर्छ । पार्टी एकताबद्धमा कसैले पनि शंका नगरे हुन्छ । पार्टी एकबद्ध भएर अघि बढ्छ भनेर भन्नु भयो ।’
