बिर्तामोड, २१ फागुन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन्।
प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिए ।
अध्यक्ष ओलीले भने, “कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ ।” उनले जातिय पहिचानबाट प्रदेश नामाकरण गर्न नहुने समेत औल्याए ।
उनले अर्को प्रसङ्गमा नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गरे । वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेखगर्दै अध्यक्ष ओलीले लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको कांग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् भएको आरोप लगाए ।
