संखुवासभा, २६ फागुन–संखुवासभाको मादीमा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १४ जना सबैको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मृतक १४ जना र घाइते पाँच जनाको पहिचान खुलेको हो । खाँदबारीबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहान ७ः४५ बजेतिर संखुवासभाको मादी-६ को सातघुम्तीस्थित सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
मृतकमा संखुवासभा मादी-६ बस्ने वर्ष ३२ की अञ्जना कटुवाल, मादी-५ बस्ने वर्ष ४५ का दीपक दाहाल, मादी-६ बस्ने वर्ष ३८ का इन्द्रबहादुर अधिकारी, मादी-४ का वर्ष ३५ का उमेश भट्टराई (सहचालक) छन् ।
यस्तै, मादीकै वडा नम्बर-४ बस्ने वर्ष ३८ का आइतबहादुर तामाङ, सोही ठाउँ बस्ने वर्ष ३५ कि सविता राउत कार्की, मादी-५ का वर्ष ५२ का श्याम शेर्पा, सोही ठाउँ बस्ने वर्ष ५५ का भवानी दाहाल, मादी-६ वर्ष ५ की दीक्षा कटुवालको मृत्यु भएको छ ।
यसैगरी मादी-४ का वर्ष ६० को बलबहादुर कार्की, ताप्लेजुङकी ३१ वर्षीया समीक्षा योञ्जन, समीक्षाका छोरा सुदिप घिसिङ र तेह्रथुम औशीडाँडा बस्ने वर्ष ३० का विपिन निरौला (चालक तथा सवारी धनी) को पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, घाइतेहरू पाँचै जना संखुवासभाकै रहेको खुलेको छ । जसमा मादी-४ बस्ने वर्ष २४ को सुभाष गोले, मादी-६ बस्ने वर्ष २२ की तुलसा कटुवाल, मादी-६ बस्ने वर्ष २४ की करिश्मा तामाङ, सोही ठाउँ बस्ने वर्ष ५० को डम्बरबहादुर कार्की र मादी ५ बस्ने वर्ष २७ कि युका पोखरेल छन् ।
