काठमाडौं, १ चैत–प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनसँग चुनावी एजेण्डा नै नभएको बताएका छन् ।
अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै ओलीले विरोधीहरुसँग विरोध गर्ने कुरा नै नभएको बताए । आफ्नो कार्यकालमा धेरै काम गरेको, विकास समृद्धिको लक्ष्य लिएको, विकासोन्मुखबाट देशलाई विकाशील बनाएको, दिगो विकासको लक्ष्य नजिक पुर्याउन धेरै काम गरेको दाबी गर्दै ओलीले विरोध गर्ने ठाउँ नै नभएको बताए ।
‘कांग्रेसले एमालेको भण्डाफोर गर्ने रे, के भण्डाफोर गर्ने रु हामीले राम्रो काम गरेका छौं । सुखी नेपाल समृद्ध नेपालको नारालगायतका धेरै योजना अघि बढाएका छौं’ उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र हाम्रो प्रतिस्पर्धी नै होइनन् ।
एमाले बलियो रहेछ, एक्लै जान हुँदैन भनिरहेका छन् । एक्ला एक्लै आए त कर्याक कुरुक हुन्छन् । एक्ला एक्लै नआए पनि केही फरक पर्दैन । हामी कांग्रेसको भण्डाफोर गर्दैनौं, के नै गरेका छन् र उनीहरुले ।’ ओलीले आधार र आत्मविश्वास सहित निर्वाचनमा जान महिलाहरुलाई अपिल गरे ।
