काठमाडौं, ३ चैत–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । आज (बिहिबार) बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्ने भएको हो ।
पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । उनका अनुसार बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने छ । निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।
पछिल्लो समय सबै राजनीतिक दलहरु निर्वाचन केन्द्रीत बन्न थालेका छन् । सत्तारुढ नेपाली कांग्रेसले एक महिने चुनावी अभियान शुरु गरेर सबै स्थानीय तहसम्म पुगिसकेको छ ।
यस्तै, सत्तारुढ नेकपा माओवादी केन्द्रले पनि दुई महिने चुनावी अभियान शुरु गरिसकेको छ ।
