सल्यान, ६ चैत–नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले ३० वैशाखमा २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्रै पार्टीका उम्मेदवार टुङ्गो लगाइसक्ने बताएका छन् ।
सल्यानमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले विधान अनुसार पार्टीका विभिन्न तहका समितिले चैत मसान्तभित्रै उम्मेदवार टुङ्गो लगाउने बताएका हुन् । ‘यस पटक विगतमा भए जस्तो उम्मेदवादी दिने अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुङ्गो नलाग्ने स्थिति रहँदैन । निणर्य गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुङ्गो लगाउने कोशिस गर्छौं’ उनले भने ।
पार्टीका तल्लो तहका समितिले उम्मेदवार टुंग्याउन नसकेर विवाद भएमा केन्द्रले उम्मेदवार चयन गर्ने पनि प्रवक्ता महतले बताए । ‘जुन तहको उम्मेद्वारी हो, त्यहीं टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ’ उनले भने ।
नेपाली कांग्रेसले आरम्भ गरेको ‘घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं’ भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी नागरिकसँग जोडिन पनि डा. महतले पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरेका छन् । उनले स्थानीय चुनावमा स्थानीय आवश्यकताका आधारमा गठबन्धन बन्ने पनि बताए ।
यद्यपि यसबारे निणर्य पार्टीको ११ चैतमा बस्ने बैठकले निणर्य गर्ने पनि उनले बताए । ‘एक्लै लड्दा बढी जितिन्छ भन्ने देखियो भने त्यही गरौं, सहकार्य गर्दा बढी सिट जितिने भयो भने त्यसको आधारमा होला’ प्रवक्ता डा.महतले भने ।
