विराटनगर, २२ चैत–प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले प्रदेश १ को खेलकुद अब्बल बनाउनुपर्नेमा जोड दिएका छन्। सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको शपथग्रहणमा मन्त्री राईले यस्तो बताएका हुन्।
उनले खेलकुद क्षेत्रको समग्र विकास आवश्यक रहेकोमा जोड दिँदै नवनियुक्त उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेशको खेलकुदलाई गति दिने गरि काम गर्न आग्रहसमेत गरे। उनले भने, ‘काँधमा जिम्मेवारी थपिएको छ, कार्यकाल सफल होस्।’
शपथग्रहणमा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव फडिन्द्र खत्रीलगायत सहभागी थिए। प्रदेश १ मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विराटनगरकी कार्की र सदस्य सचिवमा ओखलढुंगाको ज्यामिरेका वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको थियो। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो।
