झिलझिले, २३ चैत–झापाको शिबसताक्षी–११ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षसहित वडा सदस्यहरु पदका उम्मेद्वारको नामहरु टुंगो लगाएको छ । एमाले वडा कमिटीको आज सम्पन्न बैठकले वडाध्यक्ष पदको उम्मेद्वारमा बहादुर आङ्बोको नाम सर्व सम्मत टुंगो लगाएको वडा कमिटी अध्यक्ष डिके लामाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष पदका उम्मेद्वार आङबो वर्तमान वडा सदस्य हुन् । सामाजिक क्रियाकलामा सक्रिय आङबो शिबसताक्षी नगरको खेलकुदको विकासमा लामो समयदेखि कार्यरत छन् । उनी, सहकारी संस्था र किरात याक्थुम चुम्लुङमा आबद्धता भएर कार्यरत छन् ।
वडाध्यक्ष पदको आकाक्षीमा डिल्लीरमण खतिवडा, देवेन्द्र खरेल र बहादुर आङ्गबोको नाम परे पनि खतिवडा र खरेलले नाम फिर्ता लिएसँगै बहादुर आङ्गबो वडाध्यक्षका पदको उम्मेद्वारमा सर्वसम्मत टुंगो लगाएको हो ।
त्यस्तै, खुल्ला सदस्यहरुमा पर्शुराम अधिकारी, प्रेमलाल भुजेल, महिला सदस्यमा मेलिना राई र दलित सदस्यमा जुनु मोहोराको नाम टुंगो लागेको वडा कमिटी अध्यक्ष लामाले जानकारी दिए । आङ्गबो २०७४ सालको निर्वाचनमा वडा नं ११ का वडा सदस्य पदमा निर्वाचित हुन् ।
