काठमाण्डौं, २९ चैत–सत्तारूढ गठबन्धनको सोमबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने–
गभर्नरलाई हटाउने उचित निर्णय भएको छ । सरकारको निर्णय नमान्ने, सरकारलाई सहयोग नगर्ने र अर्थमन्त्रीसँग मिलेर काम नगर्ने भएपछि कारबाही गर्नुपरेको हो । यस्तो अवस्थामा गभर्नरले सहयोग गर्नुपर्ने थियो, त्यस्तो भएन । कारबाहीको निर्णय जायज छ, अब छानबिन सुरु भएको छ, यस विषयमा थप प्रस्ट पनि हुन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीमाथिको छानबिन प्रक्रिया जायज भएको बताएका छन् । सोमबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले यसलाई सुझबुझपूर्ण निर्णयका रूपमा प्रस्तुत गरेका छन् ।
बैठकमा कांग्रेस महामन्त्री गगन थापाले गभर्नर प्रकरणबारे चासो राखेपछि जवाफमा प्रधानमन्त्री देउवाले कारबाही स्वाभाविक रहेको बताएका थिए । ‘यो उचित निर्णय भएको छ । सरकारको निर्णय नमान्ने, सरकारलाई सहयोग नगर्ने र अर्थमन्त्रीसँग मिलेर काम नगर्ने भएपछि कारबाही गर्नुपरेको हो,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘यस्तो अवस्थामा गभर्नरले सहयोग गर्नुपर्ने थियो, त्यस्तो भएन । कारबाहीको निर्णय जायज छ, अब छानबिन सुरु भएको छ, यस विषयमा थप प्रस्ट पनि हुन्छ ।’
बैठकमा प्रसंगवश मात्र गभर्नरको विषयले प्रवेश पाएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।
यससँगै गभर्नर अधिकारी निलम्बित भएका थिए । सरकारले वरिष्ठ डेपुटी गभर्नर डा नीलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएको छ । यो मुद्दालाई एमालेले राजनीतिक विषय बनाएको छ ।
