दुधे, ६ वैसाख–नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी नगर कमिटीले हिजो (सोमबार) नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
आसन्न स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम अनुसार एकीकृत समाजवादी शिबसताक्षी नगर कमिटीले अगुवा कार्याकर्ता भेला सम्पन्न गरकेो हो । सो भेलामा पार्टीका केन्द्रीय उपमहासचिव तथा पवक्ता जगनाथ खतिवडाले सम्बोधन गर्नुभएको थियो ।
नगर कमिटी अध्यक्ष समेत रहनुभएका नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाका उपसचिव नविन इजमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका पार्टीका उपमहासचिव एबम् प्रवक्ता खतिवडाले स्थानीय तहको निर्वाचनको गठबन्धनमा आफ्नो पार्टीलाई सम्मानजनाक स्थान नदिए एक्लै चुनावमा भाग लिने बताए ।
दुधेस्थित आदीवासी जनजाति महासंघको भवनमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता खतिवडाले गठबन्धनले प्रत्येक पालिकामा प्रमुख पदमा कांग्रेस र माओवादी केन्द्रले मात्र पाउनु पर्ने दम्भ देखाए आफ्नो पार्टी एक्लै भए पनि चुनावमा भाग लिने बताए ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा प्रवक्ता खतिवडाले शिवसताक्षीमा नेकपा एसले प्रमुख पद पाउनुपर्ने जिकिर गरे । शिवसताक्षीको हकमा प्रमुख पदको लागि नवीन इजमको विकल्प नभएको समेत उद्घोष गरे । यस विषयमा शीर्ष नेताहरुसँग छलफल भइरहेकोले सबै कार्यकर्ताहरुलाई धैर्य गरी पार्टीलाई जिताउन आग्रह गरे ।
फरक प्रसंगमा उनले नेकपा एमालेमा ओली प्रवृति हावी भएको र निरङ्कुशतातर्फ उन्मूख हुन थाले पछि आफूहरुले विद्रोह गर्नु परेको स्मरण गराए । अहिले नेकपा एस पार्टी केन्द्र सरकारमा सहभागी छ भने प्रदेश १ र बागमती प्रदेशको सरकार प्रमुखको नेतृत्व गरिरहेको अवस्थामा छ ।
अब आसन्न स्थानीय तहको पनि नेतृत्व गर्ने अवसर एस पार्टीलाई जनताले दिनुपर्ने प्रवक्ता खतिवडाले बताए ।
सो वृहत् कार्यकर्ता भेलालाई पार्टीका पोलिटब्यूरो सदस्य भाष्कर काफले, केन्द्रिय सदस्य तथा झापा इन्चार्ज इन्द्र बुढाथोकी, केन्द्रिय सदस्य तथा झापा सह इन्चार्ज निलमणी बराल, प्रदेश कमिटी सदस्य तथा शसस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, प्रदेह सदस्य केन्द्र प्रसाई, झापा अध्यक्ष बेदराज रेग्मी, समाजवादी प्रेष संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का इन्चार्ज तीर्थ सिग्देल लगायतले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई बिजय गराउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

