काठमाडौं, १० बैशाख–पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छ। वैशाख ३० गते हुने निर्वाचनको लागि भोलिबाट मनोनयन दर्ता सुरु हुने भएकाले समाजवादीले उम्मेदवारको टुंगो लगाएको हो।
पाँच दलीय गठबन्धनबाट समाजवादीले पोखरा महानगरको मेयर र काठमाडौं महानगरको उपमेयर पाएको छ। भने हेटौंडा उपमहानगरको मेयरसहित इटहरी, बुटवल र तुलसीपुरको उपमेयर भाग पाएको छ।
महानगरतर्फ पोखराको मेयरमा धनराज आचार्य र काठमाडौंको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए।
यस्तै, हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामा, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना, इटहरी उपमहानगरपालिकाको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
त्यस्तै, अध्यक्ष नेपालले महानगर र उपमहानगरमा गठबन्धनका दलबीचको भागबण्डामा सन्तुष्ट भए पनि तल्लो तहबाट आएको रिपोर्टमा असन्तुष्टि जनाइरहेका छन्।
शनिबार काठमाडौंमा आयोजित एका कार्यक्रममा बोल्दै उनले भने ‘पाँच दलीय गठबन्धनमा छलफल भइरहेको छ। तर, तल्लो तहको रिपोर्ट सुन्दा उत्साहजनक छैन। पहिलो चरणको सहमति उत्सावर्द्धक नै थियो। महानगर र उपमहानगरको सहमति गरेको छौँ। महानगरको भागबण्डाले राम्रो सन्देश गरेको छ।’
उनले आफ्नो पार्टीको संगठन देशव्यापी भए पनि गठबन्धनमा रहेका दलहरूको तीव्र आकांक्षाले समस्या भएको बताए।
‘देशैभर हाम्रो पार्टीको संजाल छ। हामीले हाम्रो हैसियत अनुसारको न्युनतम सबै जिल्लामा पाउनुपर्छ भनेका छौँ। कांग्रेस, माओवादी र जसपाले जितेको ठाउँमा ठिकै छ। एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक रहन्छ। सबैको आकांक्षा बढ्दो रहेछ। कांग्रेसका कतिपय नेताहरू गठबन्धनप्रति इमान्दार देखिएका छैनन्’ उनको भनाइ छ।
