भद्रपुर, १५ बैशाख–आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै उम्मेदवार जनताको घरदैलोमा पुग्न थालेका छन् ।
जनताको पीरमर्का बुझ्दै त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनीहरु मतदानका लागि आग्रह गर्दै जनताको घरदैलोमा पुग्न थालेका हुन् ।
नेकपा एमाले अर्जुनधाराका नगर प्रमुख पदका उम्मेदवार बलदेव गोम्देन र उपप्रमुख पदकी उम्मेदवार खड्गमाया पराजुली जनताको घरदैलोमा पुग्न थालेका छन् । “जनचाहना, समस्या बुझ्न जनताको घरदैलोमा पुग्न थालेका छौं”, नगर प्रमुख पदका उम्मेदवार गोम्देनले भन्नुभयो, “जनताको समस्या बुझेर त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै छौं ।”
यस्तै, नेकपा माओवादी केन्द्रबाट भद्रपुर वडा नं। ६ का उम्मेदवार हंशधर राजवंशीले मनोनयन दर्तासँगै चुनावी अभियान शुरु गरिएको बताउनुभयो । “जनताको समस्या बुझ्दै छौं”, उहाँले भन्नुभयो, “हाम्रा योजना पनि जनतामाझ लाँदैछौँ ।”
त्यस्तै, नेकपा एकीकृत समाजवादीका तर्फबाट बिर्तामोडका उप प्रमुख पदका उम्मेदवार तीर्थ सिग्देलले वडा–वडा र टोल–टोलमा पुग्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्ययोजना बनाएर जनताको घर–घरमा पुग्ने र उहाँहरुको समस्या, पीर–मर्का बुझेर सम्बोधन गर्ने योजना बनाउँदै छौँ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट हल्दिबारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रविन्द्र लिङ्देनले जनताको घरदैलोमा पुग्ने अभियान तीव्र बनाइएको बताउनुभयो । “जनतालाई केन्द्रमा राखेर गतिविधि अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “जनताको चाहना नै हाम्रो प्राथमिकता हो ।”
राप्रपा भद्रपुरका नगरप्रमुखका उम्मेदवार नवराज पनेरु ९राजु० नगरको १० वटै वडामा ५२ जना उम्मेदवार घरदैलो अभियानमा जुटेको बताउनुहुन्छ । भन्नुहुन्छ, “जनताले भ्रष्टार नगर्ने र इमान्दार नेतृत्व चाहिरहेका छन्, हामी पनि सोही अनुरुपका प्रतिबद्धता सहित अघि बढिरहेका छौँ ।”
झापाका १५ वटै स्थानीय तहमा नगरप्रमुख÷अध्यक्षमा १३० जना, उपप्रमुख÷उपाध्यक्षमा १११, वडाध्यक्षमा ६८१ जना, महिला सदस्यमा ५०९, दलित महिला सदस्यमा ७१०, खुला सदस्यमा एक हजार ८७ जनाले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
