दमक, २० वैशाख–यहि वैशाख ३० गते शुक्रबार सम्पन्न हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको क्रममा झापाको दमक नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट नगर उपप्रमुख र वडा सदस्यका उम्मेद्वारहरुले दमक वडा नं ३ का मतदाताहरुको घरदैलो तथा भेटघाट गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) चुनाव प्रचार प्रसार कमिटीद्वारा आयोजना गरिएको घर दैलो कार्यक्रममा उम्मेद्वारहरुले दमक ३ स्थित बेलडाँगी शिविर, बाघखोर, शिखर कटेरी लगायतका स्थानहरुमा पुगेर मतदाताहरुलाई भेटघाट गर्नुभएको हो ।
नगर उपप्रमुखका उम्मेद्वार महेश घिमिरे र वडा नं ३ मा खुल्ला सदस्यका उम्मेद्वार किरण भट्टराईले वडास्तरीय घरदैलो तथा भेटघाट कार्यक्रम गर्नुभएको हो । नेकपा (एकीकृत समाजवादी) दमक नगर अध्यक्ष समेत रहनुभएका उपप्रमुखका उम्मेद्वार घिमिरे र दमक ३ वडा कमिटीका अध्यक्ष समेत रहनुभएका वडा सदस्य पदका उम्मेद्वार भट्टराईले वडाका मतदाताहरुबीचमा पटक पटक एउटै दल वा एउटै चुनाव चिन्हमा भोट लगायौं तर यस पटक नयाँ दल र नयाँ चुनाव चिन्ह कमलमा भोट लगाउन आग्रह गर्नुभएको थियो ।
सो क्रममा उम्मेद्वारहरुले दमकको उत्तरीक्षेत्र दमक ३ लाई जङ्गली हात्तिबाट हुने धन र जनको क्षतिलाई न्यूनिकरण र नियन्त्रण गर्ने, सडक पूर्वाधारका योजनाहरुलाई पुरा गरिने, कृषि उपज र बजारीकरणका कार्यक्रमहरु ल्याइने, सामुदायी विद्यालयको अवस्थालाई मध्यनजर गर्दै त्यसको शैक्षिक गुणस्तरको बृद्धि गर्ने, मावा खोला र रतुवा खोलको कटानलाई नियन्त्रण गर्न बाँध बाधिने, यहाँ रहेको खेल मैदान, सामुदायीक बन, त्यसको उपयोग लगायतका बारेमा काम गर्न पार्टीको तर्फबाट मुख्य प्रतिबद्धताहरु राख्नुभएको थियो ।
त्यस्तैं, वडावासीहरुले उम्मेद्वारहरुलाई वडाभित्रका समस्याहरुको बारेमा जानकारी गराएका थिए । जङ्गली हाक्तिको उप्रदो, त्यसबाट हुने क्षति लगायत, स्वास्थ्य, शिक्षा, कृषि उपज र त्यसको बजारीकरण लगायत जनसरोकारका बिषयमा स्थानीवासीले उम्मेद्वारहरुसँग राखेका थिए ।
