धरमपुर, २४ वैशाख–झापाको शिबसताक्षी–२ मा वडा अध्यक्ष पदसहित वडा सदस्य पदका स्वतन्त्र उम्मेद्वारको वडास्तरीय घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । वैशाख १९ देखि सुरु भएको घरदैलो तथा भेटघाट कार्यक्रम वैशाख २३ गते सम्पन्न भएको हो ।

नेपाली कांग्रेसका वडा सभापति समेत रहनुभएका मंगलबारे बजारका व्यवसायी काजीमान बुडाथोकीले वडा अध्यक्ष पदमा र सहकारीकर्मी एबम् कृषि फार्म सञ्चालक राजेन्द्र ढुंगानाले वडा सदस्य पदमा उम्मेद्वारी दिनुभएको छ । दुबै नेताले पार्टीको निर्देशन बिपरित वडामा उम्मेद्वारी दिनुभएको हो ।

शिबसताक्षी नगरपालिकामा कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले संयुक्त रुपमा नगर प्रमुख र उपप्रमुख सहित नगरको ११ वटै वडामा साझा उम्मेद्वारी दिएका थिए । तर, वडा नं २ का कांग्रेस सभापति समेत रहनुभएका व्यवसायी बुडाथोकीले स्थानीय स्तरका कार्याकर्ताको भावना विपरित भएको निर्णयलाई अटेर गरेका छन् ।

सो वडामा माओवादी केन्द्रको भागमा वडा अध्यक्ष पद परेको थियो । यद्धपी, कांग्रेस वडा समितिले सो विषयमा असमती जनाएपछि बिबाद उत्पन्न भएको थियो ।

खासगरी, वडा नं २ मा नेकपा (एमाले), गठडबन्धन (कांग्रेस–माओवादी), राप्रपा लगायतले उम्मेद्वारी दिएका छन् । एमालेबाट प्रदिप चिमोरिया, गठबन्धनबाट साझा उम्मेद्वार भीम नेम्बाङ र राप्रपाबाट डिबी बोहोराको वडा अध्यक्ष पदमा उम्मेद्वारी परेको छ भने स्वतन्त्रबाट काजीमान बुडाथोकीको उम्मेद्वारी कायमै छ ।

यी दलहरुले वा स्वतन्त्र उम्मेद्वारहरुले शिबसताक्षी–२ को मुख्य बजार मंगलबारे बजारमा आ–आफ्ना चुनावी प्रचार प्रसार कार्यालय स्थापना गरेका छन् । कार्यालयमा आ–आफ्ना कार्यकर्ताहरुको घुइचो लागेको छ । आ–आफ्नै प्रचार प्रसारका सामाग्रीहरुदेखि माइकिङहरु गरिरहेका छन् ।

केही ढिलाईबाट प्रचार प्रसारसहित घरदैलोमा निस्केका स्वतन्त्र उम्मेद्वारको साथ र समर्थनमा आउनेहरुको घुइचो एमाले, गठबन्धन र राप्रपा भन्दा कम छैन् । घरदैलोमा होस या मंगलबारे बजारमा भएका सभामा होस, स्थानीयले ठूलै साथ र समर्थन गरेको वडा अध्यक्षका स्वतन्त्र उम्मेद्वार बुडाथोकी बताउनुहुन्छ ।

अरु दलहरुले प्रचार प्रसार र घरदैलोमा व्यस्त भइरहेको समयमा स्वतन्त्र उम्मेद्वारहरुले चुनाव चिन्हसम्म पाइसकेको थिएनन् । वडा अध्यक्षका उम्मेद्वार काजीमान बुडाथोकीले चुनाव चिन्ह खरायो पाउनुभएको छ भने वडा सदस्य पदका स्वतन्त्र उम्मेद्वार राजेन्द्र ढुंगानाले लौरी चुनाव चिन्ह पाउनुभएको छ ।

कांग्रेसबाट बिद्रोह गरेर उम्मेद्वारी दिनुभएका वडा अध्यक्ष र वडा सदस्य पदका उम्मेद्वारलाई यतिवेला मतदाताहरुले चुनाव चिन्हमा अलमल गर्लानकी भन्ने पिरलो छ । कांग्रेस भएपनि स्वतन्त्र उम्मेद्वारी भएकोले चुनाव चिन्हमा अलमल होला की, वडा अध्यक्षका उम्मेद्वार बुडाथोकी भन्छन्–मतदाताहरुलाई यस बारेमा सिकाउन जरुरी छ । हामी त्यसतर्फ लाग्नेछौं ।

यता, वडा सदस्य पदका उम्मेद्वार ढुंगानाका अनुसार एमाले, गठबन्धन र राप्रपाको जस्तै हामीलाई वडावासी मतदाताहरुले साथ र समर्थन दिइरहेका छन् । घरदैलोमा मतदाताहरुले दिएका उत्साहजनक सहयोगले निर्वाचन जित्ने आधार बन्दै गएको वडा सदस्य पदका उम्मेद्वार ढुंगाना बताउनुहुन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *