दमक, २ जेठ–झापाको दमकमा आज (सोमबार) किरात राई समुदायले साकेला उभौली धुमधामका साथ मनाएको छ । किराँत राई यायोक्खा दमक नगर समितिद्वारा आयोजित उभौली कार्यक्रममा साकेला शिली नृत्य प्रस्तुत गरिनुका साथै सहयोगी दाताहरुलाई सम्मानसहित शुभकामना आदान प्रदान गरिएको छ ।
दमक १ साकेला माङखिम परिसरमा सम्पन्न कार्यक्रममा यायोक्खा दमक समितिका अध्यक्ष बासुदेब राईको अध्यक्षता रहेको थियो । सो कार्यक्रममा यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईको प्रमुख आतिथ्यतामा रहेको थियो ।
कार्यक्रममा दमक १ का नवनिर्वाचित वडा अध्यक्ष इन्द्र न्यौपाने, यायोक्खाका संस्थापक जीतमान राई, यायोक्खाका पुर्व केन्द्रीय उपाध्यक्ष क्याप्टेन बिबी राई, दमकका शिक्षासेवी मनोज साङपाङ राई, जग्गादाता गजबहादुर तामाङ र नीरकुमार राईको उपस्थिति रहेको थियो ।
त्यस्तै, दमकस्थित यलम्बर शालिक निर्माण समितिका अध्यक्ष जीतेन राई, चुलाचुली बोडिङ स्कुलका प्रिन्सिपल चन्द्रप्रकाश राई, इन्टन स्ट्रार बोडिङ स्कुलका प्रिन्सिपल लक्षुदास राई, साहित्यकार सुमित्रा बाङदेल चेली, पत्रकार अनिलदेब राई, किराँत राई विद्यार्थी संघ झापाका अध्यक्ष मिलन राई, यायोक्खा झापाका कोषाध्यक्ष किसन राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा यायोक्खाद्वारा निर्माण गरिएको माङखिमलाई जग्गादाता गजबहादुर राई र नीरकुमार राईलाई सम्मान गरिएको थियो । त्यसैगरी, यायोक्खाले आयोजना गरेको विभिन्न कार्यक्रमहरुमा सहयोग गर्नुहुने दाताहरुसमेत कार्यक्रममा सम्मान गरिएको थियो ।
यायोक्खा दमक नगर समितिका सचिव महेन्द्र चाम्लिङले सञ्चालन गर्नुभएको कार्यक्रममा यायोक्खा दमक नगर समितिका उपाध्यक्ष धनजीत राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सो क्रममा किराँत राई यायोक्खा दमक नगर समिति र किरात राई यायोक्खा लखनपुरस्थित सितापुरीबाट तयार पारिएको साकेला नृत्यहरु प्रस्तुत गरिएको थियो ।
