धनकुटा, ६ जेठ–वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतपरिणाम धमाधम आइरहेका छन्। अहिलेसम्म धनकुटाका ७ वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ।
धनकुटाको धनकुटा, महालक्ष्मी र पाख्रिबास नगरपालिका तथा चौविसे, साँगुरीगढी, शहीदभूमि र छथर जोरपाटी गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ। धनकुटाका स्थानीय तहमा गठबन्धनले ४ र एमालेले ३ वटा स्थानीय तह प्रमुखमा जितेका छन्।
२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा एमालेले धनकुटाका ७ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख जितेको थियो। त्यसपछि एमालेले धनकुटा सदरमुकाममा आयोजना गरेको विजयी जुलुसलाइ सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तत्कालीन जिल्ला अध्यक्ष राजेन्द्र राईलाई म्यान अफ द इलेक्सनको उपाधि दिएका थिए।
यो पटकको स्थानीय तह निर्वाचनमा माहोल फेरिएको छ। यो निर्वाचनमा धनकुटामा सात स्थानीय तहमध्ये चारवटामा गठबन्धनले बाजी मार्दा तीनवटा पालिका मात्र एमालेको पोल्टामा परेको छ। २०७४ सालको निर्वाचनमा भन्दा चारवटा त गुमायो। सँगै एमालेको लाल किल्ला समेत भत्किएको छ।
योपटक एमालेले चौबिसे गाउँपालिका, शहीदभूमि गाउँपालिका र धनकुटा नगरपालिका बाहेकका अन्य स्थानीय तहमा आफ्नो अघिल्लो पटकको बिरासत गुमाएको छ।
धनकुटाका सात पालिकामध्ये प्रमुखमा एमालेले तीनवटा स्थानीय तह प्रमुख तथा ६ वटामा उपप्रमुख जित्न सफल भयो। यता गठबन्धन चार पालिका प्रमुख तथा एक पालिकामा उपप्रमुख जित्न सफल भयो ।
अघिल्लो निर्वाचनमा कुल ६० वडा मध्ये ४३ वडामा विजयी भएको एमालले यो पटक ३१ वडामा समेटियो। त्यस्तै अघिल्लो पटक पालिका प्रमुख उपप्रमुख सहित सम्पूर्ण वडा र वडा सदस्य समेत तिजेको पाख्रिवास नगरपालिका एमालेले यो पटक प्रमुख सहित पाँच वडा र आधा वडा सदस्य गुमाउनु पर्यो।
स्थानीय तहको विरासत खोसिए पनि तीव्र प्रतिस्पर्धा रहेको नेकपा एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुली बताउँछन्। उनले जिल्ला समन्वय समिति समेत एमालेकै बन्ने बताए। यता नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राईले एमालेको किल्ला भत्काउन गठबन्धन सफल भएको बताए।
एमालेले गरेको क्रियाकलापबाट जनता खुशी नभएकाले जनताले गठबन्धन रोजेका राईले बताए। गठबन्धन पूर्ण कार्यान्वयन नभएको तर इमान्दारीका साथ कार्यान्वयन भएको भए एमालेलाई नै क्लिन स्वीप गरिने राईले बताए।
स्थानीय निर्वाचनका लागि धनकुटाका सत्ता गठबन्धनले जिल्लाका ७ वटै स्थानीय तहमा तालमेल गर्ने निर्णय केन्द्रको निर्णयभन्दा पहिले गरिसकेका थिए। ०७४ सालको स्थानीय निर्वाचनलाई आधार बनाएर धनकुटामा गठबन्धन दलले तालमेल गरेर जाने निर्णय गरेका हुन्।
