हेटौडा, ६ जेठ–हेटौंडा उपमहानगरपालिकामा तीन हजार बढी मत गणना गर्न बाँकी रहँदै नेकपा एमालेका उम्मेदवारले नेकपा (एकीकृत समाजवादी) की उम्मेदवारलाई बधाई दिएका छन् । ७३ हजार ४ सय १४ मत खसेको हेटौंडामा हालसम्म ६९ हजार ६ सय ९६ मत मात्र गणना भएको छ । पछिल्लो मत परिणाम अनुसार गठबन्धनबाट समाजवादीकी मेयर उम्मेदवार मिनाकुमारी लामाले एमालेका उम्मेदवार अनन्त पौडेलभन्दा २ हजार ७७ मत बढी ल्याएकी छन् ।

तीन हजार ७ सय १८ मत गणना बाँकी रहँदा २ हजार ७७ मतले पछाडि परेपछि एमालेका उम्मेदवार पौडेलले पराजय स्वीकार्दै मतगणना स्थल हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा पुगेर विजय उन्मुख लामालाई खादा लगाउँदै जितको शुभकामना र बधाई दिएका हुन् ।

लामाले हाल २१ हजार ८ सय २, एमालेका पौडेलले १९ हजार ७ सय १ र राप्रपाका दिपकबहादुर सिंहले १९ हजार १ सय ३७ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेका राजेश बानियाँको जित सुनिश्चित भइसकेको छ । उनी प्रतिस्पर्धी नेकपा एमालेकी सुमित्रा काफ्लेभन्दा ७ हजार ३ सय ४४ मतले अगाडि छन् ।

हालसम्म बानियाँले २६ हजार ४ सय ४६ र काफ्लेले १९ हजार १ सय २ मत ल्याएका छन् । हेटौंडाको मेयर र उपमेयरमा ०४९ सालदेखि लगातार जितेको एमालेलाई हराउँदै गठबन्धन जितको नजिक पुगेको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *