दूधे, १३ असार–लगातारको अविरल वर्षाका कारण आएको बाढीले खानेपानीको संरचना भत्काएपछि शिवसताक्षी नगरपालिका ९, १० र ११ का उपभोक्ताहरु खानेपानीको प्रत्यक्ष अभाव झेलिरहेका छन् ।
गत असार ५ गते आएको बाढीले सतासीधाम खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानीको नाला बाढीले बगाएपछि शिवसताक्षीको ३ वटा वडाहरु खानेपानीको अभावमा परेका हुन् ।
खानेपानी उपभोक्ता समितिका कर्मचारी राजेन्द्र खड्काले जानकारी दिएअनुसार खानेपानी लाईनको पाइप झरना खोलाको बाढीले २ सय १० एम्एम्को २ सय ५० मिटर बगाएको छ भने २ सय एमएमको ९० मिटर पाइप बगाउँदा खानेपानी पूर्ण रुपले अवरुद्ध भएको छ ।
ईलाका प्रहरी कार्यालय झिलझिलेको मुचुल्का अनुसार २ लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ । खानेपानी पूर्ण रुपले अवरुद्ध हुँदा शिवसताक्षी ९, १० र ११ वडाका खानेपानी उपभोक्ताहरु प्रभावित बनेका छन् ।
हामीसँग ट्यूबवेल पनि छैन, खानेपानीको मुहान बन्द हुँदा हामीले अत्यन्तै सास्ती भोगिरहेका छौँ । नाम नखुलाउने सर्तमा एक उपभोक्ताले भने । उनले खानेपानी उपभोक्ता समिति उपभोक्ता प्रति जवाफदेही नहुँदा हामीले सास्ती भोग्नु परेको बताए ।
खानेपानी जस्तो संवेदनशील विषयमा सम्बन्धित पक्ष संवेदनशील नभईदिँदा शिवसताक्षी ९, १० र ११ का ६ सय घरधुरीले सास्ती भोगिरहेका छन् । वर्षायाममा कुनै पनि बेला प्राकृतिक प्रकोप, भू–क्षय आउने र भौतिक संरचनाहरु नष्ट गर्ने जस्ता समस्या आउने भएकोले स्थानीय सरकारले समयमै विपद् व्यवस्थापनका लागि चनाखो हुन आवश्यक छ ।
खानेपानी उपभोक्ता समितिका कर्मचारी खड्काका अनुसार प्रहरीले आइतबार मात्र स्थलगत मुचुल्का बनाइदिएकोले खानेपानीलाई सहज बनाउन सोमबारदेखि नै जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा तागेता गरी काम सम्पन्न गर्ने बताएका छन् ।
