दमक, १५ असार–‘माटो जोगाऔं अभियान’ लिएर पर्वतका नबीन पुन मगर झापाको दमक आइपुगेका छन् । पर्वतका नबीन पुन मगर काठमाण्डौंदेखि दमकसम्म दौडिएर आइपुगेका हुन् ।
बुधबार बिहान दमकमा आयोजित पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर अभियानकर्मी नबीनले काठमाण्डौंदेखि दमकसम्म आइपुगेको बताएका छन् ।
अभियानकर्मी नबीनसहित टोलीले आयोजना गरेको पत्रकार भेटघाटमा माटो जोगाऔं अभियानलाई देशव्यापी बनाइने बताएका छन् । ‘माटो जोगाउ अभियान’का नबीनले काठमाण्डौंदेखि दमकसम्म आइपुग्न १६औं दिन लागेको बताए । उनले दमकबाट सुरुङ्गा–बिर्तामोडहुदै इलाम, पाँचथर र ताप्लेजुङसम्म पुग्ने बताए ।
बढ्दो शहरीकरण र विकासका पूर्वाधारले माटोमा क्षति हुदै आइरहको नबीनको भनाई छ । त्यस्तैं, कृषि क्षेत्रमा जथाभावी प्रयोग हुने मल र बिषादीका कारण माटोमा उर्वरता नष्ट हुदै क्षयिकरण भएको अभियानकर्मी नबीनले बताए । माटो जोगाउन सकिएन भने हामी जीवित रहन सकिन्न, नबीनले भने–‘माटो स्वच्छ र उर्वर भए मात्र हामी जीवित रहन सक्छौं ।’
सोही टोलीका सदस्य सनम लिम्ँबूले नेपालसहित बिश्वभर यतिवेला माटोमा समस्या भइरहेको बताए । उनले विश्वमा देखिएको अनेकौं समस्याहरुबीचमा माटोको देखिएको समस्या पनि एक प्रमुख समस्या भएको बताए ।
अभियानका सदस्य सनमका अनुसार काठमाण्डौंदेखि सुरु भएको ‘माटो जोगाऔं’ अभियान देशको सातै प्रदेशमा सञ्चालन हुने छ ।
