झिलभिले, १५ असार–झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका सदस्य तथा नेकपा –एमाले) का नेता एलपी साँवा लिम्बूले आज दक्षिणी झापाको बाढी र डुवान क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
नेकपा (एमाले) सम्बद नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य सुरज रिङ्गालुङ राईका अनुसार सांसद साँवाले शिबसताक्षी नगरपालिका र गौरिगञ्ज गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको हो ।
बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षणपछि सांसद साँवाले शिबसताक्षी नगरपालिका र गौरिगञ्ज गाउँपालिकाको बिद्यालयमा आश्रित बिस्थापितहरुको अवस्था बारेमा चासो राख्नुभएको छ । सो क्रममा सांसद साँवाले बिस्थापितहरुको बसोबासको अवस्था, दैनिक खानपान, खाद्यय सामाग्रीहरुको अभाव, बालबालिका र बृद्धाबद्धको स्वास्थ्य अवस्था लगायतको बारेमा स्थानीय जनप्रतिनिधिहरु र सरोकारवालाहरुसँग छलफल गर्नुभएको नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य राईले जानकारी दिनुभएको छ ।
पछिल्लो समय लगातारको भारी बर्षासँगै कनकाई नदी र बनियानी–कमल खोलामा आएको बाढीले शिबसताक्षी–४ र ६ सहित गौरिगञ्ज–१ र २ का बिभिन्न भू–भागहरु डुवान गरेको छ । बाढी प्रभावित क्षेत्रका स्थानीयवासीहरु आफन्त घर र नजिकैको बिद्यालयहरुमा आश्रय लिएर बसेका छन् ।
कनकाई नदी र कमल–बनियानी खोलामा आएको बाढीले स्थानीयको खेतीयोग्य जमिन बगाउनुका साथै दर्जनौ घर परिवारहरु बिस्थापित बनेका हुन् । खासगरी, गौरिगञ्ज–१ को महाभारा बाढी प्रभावित क्षेत्र हो ।
महाभारामा कनकाई र बनियानी–कमल खोलाले सयौं बिघा जमिन डुवान गर्नुका साथै खेतीयोग्य उर्वर जमिन कटान गरेको छ । त्यसैगरी, गौरिगञ्ज–२ को कोरोबारीमा स्थानीय खोलाले सिगों गाउँ डुवान गरेको छ भने दर्जन घर परिवार बिस्थापित बनेका छन् ।
सो क्षेत्रमा सांसद साँवासहित स्थानीय जनप्रतिनिधिहरु र सरोकारवालाहरुले स्थलगत अवलोकन गर्नुभएको छ । बाढी पीडितहरुसँग सांसद साँवाले प्रत्यक्ष कुराकानी गरेर समस्याको सामाधानका लागि आवश्यक पहल गरिने बताउनुभएको छ ।
जनप्रतिनिधिहरु र सरोकारवालाहरुबीच समन्वयकारी भूमिकासहित बिस्थापितहरुलाई कुनै खालको समस्या हुन नदिन राहतका सामाग्रीहरु प्रदान गर्न र बिस्थापितहरुको स्वास्थ्य अवस्थाप्रती जिम्मेवार बन्न सांसद साँवाले स्थानीय पालिका प्रमुख र उपप्रमुखसहित सुरक्षाकर्मीहरुलाई आग्रह गर्नुभयो ।
यता, भोली (बिहिबार) बाढी प्रभावित निर्वाचन क्षेत्र अन्तर्गत कनकाई नगरपालिका र झापा गाउँपालिकाको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुहुने कार्यक्रम रहेको सांसद साँवाले जानकारी दिनुभयो ।
