दमक, ३२ असार–पूर्वी मोरङका सयौं मानिसलाई सामुदायिक वनको निगुरो नै रोजगारीको स्रोत बन्दै गएको छ । सामुदायिक वनमा पाइने निगुरोबाट सयौं परिवारले रोजगारी पाएका छन् भने उनीहरुको दैनिक जीवन गुजारा हुने गरेको छ । निगुरोको सिजन भएकाले पनि निगुरो टिप्नका लागि अहिले बन क्षेत्रमा सर्वसाधारणको घुइचो नै लाग्ने गर्दछ ।

बिहानैदेखि मोरङका सामुदायिक जङ्गलमा जाने मानिसहरुको सङ्ख्या उल्लेख्य हुने गरेको स्थानीयको भनाई छ ।

तरकारी व्यापारीहरु निगुरो किन्नका लागि निगुरो स्थलसम्म पुग्छन् । निगुरो टिप्नका लागि टाढा–टाढाबाट सामुदायिक जङ्गलमा जाने गर्छन् । पूर्वी मोरङका जङ्गलमा झिस्मिसेमै डोको बोकेर पस्नेको ठूलो सङ्ख्या देख्न सकिन्छ ।

चैत महिनादेखि कात्तिकसम्म निगुरो पाइने सिजनलाई केन्द्रित गरेर उनीहरु वर्ष दिनको आफ्नो गुजारा चलाउन जङ्गल धाउँछन् । झिस्मिसेमै जङ्गल पसेका मानिसहरुले करिब ११ बजेसम्म डोकोभरी निगुरो बोकेर निस्कन्छन् ।

सिरहा, सप्तरीदेखि झापाको काँकडभिट्टासम्मका व्यापारीहरु निगुरो टिप्न आउने गरेका छन् । पथरी शनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्ग लगायतका सामुदायिक वनमा प्राकृतिक निगुरो पाइन्छ । यही निगुरो कतिपयको दैनिक गुजारा चल्ने गरेको छ ।

स्थानीय बजारदेखि काठमाडौंका भान्सासम्म पुग्ने यहाँको निगुरोले हजारौं मानिसलाई रोजगारी दिएको छ । लकडाउन अघि काठमाडौंसम्मका व्यापारी आएर निगुरो लैजाने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।

गतवर्ष कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि भने निगुरो निकासी लगभग ठप्प भएको उनीहरुको भनाइ छ । यसवर्ष भने पहिलाको तुलनामा निगुरो उत्पादन कम भएको निगुरो व्यापारी जितेन्द्र चौधरी बताउँछन् । करिब २० वर्ष अघिदेखि पथरी र बेलबारीबीचका जङ्गलको निगुरो सङ्कलन गरी धरान, विराटनगर, इटहरी, दमक, बिर्तामोड लगरे बिक्री गर्दै आएको उनले बताए ।’

यसैगरी, अर्का निगुरो व्यापारी कौशिला माझी निगुरो बेचेरै आफ्नो दैनिक गुजारा चलिरहेको बताउँछन् । पथरी शनिश्चरे, लेटाङ, बेलबारी नगरका साझेदारी वन क्षेत्रमा दैनिक ३÷४ सय मानिसले निगुरो टिप्दै आएका छन् । धेरै मुजदुरले दैनिक निगुरो बेचेरै परिवार चलाउने गरेका छन् ।

यो क्षेत्रमा सय हाराहारी ठेकेदारले दैनिक ठूलो सङ्ख्यामा निगुरो सङ्कलन गरी विभिन्न बजारमा बिक्री गर्ने गरेका उनले बताए । दैनिक एक जनाले ३० देखि ७० मुठासम्म निगुरो टिप्ने गरेको उनीहरुको भनाइ छ ।

निगुरो टिप्ने एकजनाले दैनिक ४ सयदेखि ६ सय रुपियाँसम्म त कसैले दुई हजार रुपियाँसम्म कमाउने गरेको उनीहरु बताउँछन् ।

निगुरो टिप्न विद्यालय तहमा पढ्ने बालबालिकादेखि कलेज स्तरमा पढ्दै गरेका विद्यार्थीले समेत बिदाको समयमा निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । निगुरो टिप्नेमा बालबालिका र स्कुले विद्यार्थी मात्र हुँदैनन् ।

लकडाउनअघि पथरी शनिश्चरे, लेटाङ, बेलबारी क्षेत्रबाट दैनिक पाँच गाडी निगुरो काठमाडौं आउने गरेको थियो । पूर्वी मोरङमा पाइने अर्गानिक तरकारी निगुरोलाई ‘ब्राण्डिङ’ गर्न सके प्रदेशकै आम्दानीको स्रोत बन्नसक्ने प्रचुर सम्भावना रहेको निगुरो व्यापारी माझीको भनाइ छ ।

टनेलभित्रै फस्टायो तरकारी खेती

झापामा टनेलभित्र रायो साग फस्टाउदै गएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदान दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ । तर यसको बजार माग बाह्रै महिना उच्च रहेका कारण झापाका किसानले बर्खे मौसममै आधुनिक प्रविधिबाट अग्र्यानिक रायो साग उत्पादन गरेर लाभ लिन थालेका छन् ।

पुनम कृषि फार्ममार्फत बिर्तामोड नगरपालिका–७ की पुनम तिम्सिनाले १५ दिनको अन्तरालमा रु एक लाख ५० हजारको बर्खे रायो साग बिक्री गरेको बताए । कृषि ज्ञान केन्द्र झापाले टनेल निर्माणका लागि फार्मलाई ५० प्रतिशत रकम अनुदान दिएको छ ।

अनुदान पाएपछि उत्साही भएर रायो सागको खेती विस्तार गरिरहेको उनले बताईन् ।
बेर्ना लगाएको एक महिनामै बिक्रीका लागि तयार हुने बैमासमी रायो साग प्रतिमुठा रु ५० का दरले बारीबाटै बिक्री हुँदै आएको उनले बताए । “अहिले रायो सागको सिजन होइन, अरुले उत्पादन गरेका छैनन् ”, उनले भने, “त्यही भएर महँगो दरमा बिक्री हुँदा आम्दानी धेरै भएको हो ।” तिम्सिनाले २० टनेल बनाएर रायो सागको व्यावसायिक खेती गर्दै आएका छन् । सुरुमा एउटा टनेल बनाएर खेती सुरु गरेकी उनले राम्रो आम्दानी भएसँगै थप २० प्लाष्टिक टनेल बनाएर सागखेती गरेको बताईन् ।

ज्ञान केन्द्रले तरकारी खेतीलाई प्रवर्धन गर्नका लागि टनेल बनाउन रु ६ लाख १२ हजार रकम ५० प्रतिशत अनुदान दिएपछि उनले रु ११ लाख ८८ हजार थपेर रु। १८ लाखमा २० आरसिसी पिलरमा प्लाष्टिक टनेल निर्माण गरेर सागको व्यावसायिक खेती गर्दै आएको छ । उनलाई साग उत्पादनमा उनका श्रीमान शान्तिरामले साथ दिँदै आएका छन् । तिम्सिनाले थप चार स्थानीयलाई समेत रोजगारी दिएको छ ।

मेचीनगर नगरपालिका–२ बाहुनडाँगीका खगेन्द्रबहादुर भुजेलले पनि माता कृषि फार्ममार्फत बैमौसमी रायो सागको खेती गर्दै आएका छन् । उनले दुई सातामा रु दुई लाखको रायो साग बिक्री गरेको बताए । जिललाकै अति दुर्गमस्थलमा सागको खेती गरेका भुजेलले उत्पादन गरेको साग बिक्रीका लागि बिर्तामोडस्थित कृषिथोक बजारमा पु¥याउने गरेको बताए । विगत नौ वर्षदेखि तरकारी खेती गर्दै आएका भुजेललाई तरकारी खेती प्रवद्र्धनका लागि टनेल निर्माणमा ज्ञान केन्द्रले रु ६ लाख १२ हजार ५० प्रतिशत अनुदान रकम प्रदान गरेको छ ।

रायो सागको खेती गर्दा बाह्रैमास हुने र आम्दानी पनि राम्रो हुने हुँदा पछिल्लो समय यसको खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताए । उनले बेर्ना तयार गरेर लगाएको एक महिनामै सागले राम्रो आम्दानी दिने हुँदा केन्द्रले साना किसानलाई व्यावसायिक अग्र्यानिक तरकारी खेतीमा प्रोत्साहन गरिरहेको बताए । टनेल निर्माणका लागि चालु आर्थिक वर्षमा २० किसानका कृषि फार्मले अनुदान पाएको उनले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *