दमक, ३ साउन–होस्टेलमा अध्ययनरत आफ्ना छोरा र छोरीलाई घरमा ल्याउनका लागि नं.प्र. १–०४–००१ प ८२४० नम्बरको स्कुटीमा सवार दमककी नेकपा (एमाले) की नेत्री समेत रहनुभएको आम्दा अस्पतालमा कार्यरत अम्बिका प्रसाई थापालाई मापसे चेकिङ्ग भन्दै दमक प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।
नेकपा (एमाले) सम्बद्ध नेपाल खेलकुद महासंघ र राष्टिय युवा संघले आज दमकमा पत्रकार भेटघाट गरेर इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलिप गिरीले शान्ति सुरक्षा गर्ने वाहानामा सर्वसाधरण नागरिकमाथि ज्यादती गरेको आरोप लगाएका छन । अम्बिका प्रसाई थापा नेकपा (एमाले) का नेता तथा दमकका युवा व्यवसायी राजकुमार थापाका श्रीमती हुन् । थापा खेलकुद महासंघका प्रदेश १ का अध्यक्ष समेत हुन् ।
खेलकुद महासंघकी स्वास्थ्य विभाग सचिव समेत रहेकी आम्दा अस्पतालमा कार्यरत नर्स थापालाई मापसे सवारी चेजजाँचका नाममा जवरजस्त बल प्रयोग गरी प्रहरीले स्कुटरको चाबी खोसेको आरोप छ । दमकको भृकुटी चोकमा उनलाई होस्टलमा रहेका आफना छोरा र छोरी लिन जाने क्रममा श्रावण १ गते आइतबार साँझ ८ बजे कागजात देखाउन भन्दै प्रहरीले रोकेको थियो ।
सो क्रममा थापाले आफुसंग सवारीसंग सम्बन्धित कागजात भएपनि हाल साथमा नरहेको बताएकी थिइन । उनलाई कागजात लिएर आएपछि पनि डिएसपी दिलिप गिरीको निर्देशनमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीले सवारीको चाबी दिन नमानेको उनीहरुको आरोप छ ।
‘कागजात लिएर आएपछि पनि मेरो स्कुटरको चाबी नदिई स्कुटर प्रहरीले नियन्त्रणमा लिएर लगे’–पत्रकार सम्मेलनमा प्रसाइँले भनिन । उनले आफू र आफना पति राजकुमार थापाको परिचय दिँदा प्रहरीले गालीगलौज गर्दै दुव्र्यवहार गरेको पनि तर्क गरिन ।
नेपाल खेलकुद महासंघ एक नम्बर प्रदेश कमिटी अध्यक्ष समेत रहेका दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य थापामाथि डिएसपीले राजनीतिक पूर्वाग्रह राखेर त्यस किसिमको दुव्र्यवहार गरेको आरोप खेलकुद महासंघ र युवा संघले लगाएका छन ।
प्रेस विज्ञप्तीमा खेलकुद महासंघका झापा जिल्ला कमिटी अध्यक्ष भवानी बराल र युवा संघका जिल्ला कमिटी अध्यक्ष शम्भु भण्डारीले हस्ताक्षर गरेका छन ।
विज्ञप्तीमा डिएसपी गिरीलाई राजनीतिक रंग दिदैं गएको स्थानीय चुनावमा पनि एमालेका नेता, कार्यकर्तामाथि उनले पूर्वाग्रही पूर्ण व्यवहार गरेको आरोप लगाइएको छ । पत्रकार सम्मेलनमा दमकका होटलहरुमा भइरहेको जुवातास, वेश्यावृत्ती आदिका बिषयमा प्रहरी मुकदर्शक बनिरहेको पनि आरोप लगाइएको छ । उनीहरुले डिएसपी विरुद्ध प्रतिवादमा उत्रिन सक्ने सम्मको चेतावनी दिएका छन ।
केही समय यता दमकको बजार क्षेत्रलाई लक्षित गर्दै टाफिक प्रहरी र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले टाफिकलाई तिब्रता दिइरहेको छ । सो क्रममा प्रहरीले राजनीतिक तथा व्यवसायिक क्षेत्रका अगुवा नेता, कार्यकर्ताहरुलाई जरिवाना तिराउने र कारवाहीको प्रकृयामा लगिरहेको पाइन्छ ।
पत्रकार सम्मेलनमा नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा एमाले शिबसताक्षी नगरका युवा नेता सुरज रिगालुङ्ग राई, सुजन भण्डारी, बिशाल खनाल लगायत स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।
