दमक, ४ साउन–अबरुद्ध रहेको नगर सभालाई सुचारु गर्न नगर प्रमुख र उपप्रमुख सकारात्मक नभएको कारण तोकिएको समयमा दमक नगरपालिकाको नीति, कार्यक्रम र बजेटमाथी छलफलसहित पारित हुन नसकेको नेकपा (एमाले) को तर्फबाट निर्वाचित नगर सभासदहरुले आरोप लगाएका छन् ।

बुधबार, दमकमा पत्रकार भेटघाट गरेर एमालेबाट निर्वाचित नगर सभासदहरुले लामो समयदेखिको अबरुद्ध नगर सभालाई सुचारु गर्न नगर प्रमुख र उपप्रमुख जिम्मेवारसहित प्रस्तुत हुन नसकेको आरोप लगाएका हुन् ।

उनीहरुले सहमति, सहकार्य, बार्ता र छलफलको माध्यमद्वारा समस्या समाधान गर्न सकिने अनेकौं बाटोहरु हुदाँहुदै नगर प्रमुख र उपप्रमुखले चासो नदेखाएको समेत आरोप लगाएका छन् । आर्थिक बर्ष ०७९।०८० को नीति तथा कार्यक्रम नगरसभाबाट छलफलसहित पारित भएको हो । असार १० गते सुरु भएको दमक नगरपालिकाको ११औंं नगर सभा पछिल्लो समय नेकपा (एमाले) को कारण अबरुद्ध हुदैं आएको छ ।

पत्रकार भेटघाटसँगै जारी गरिएको प्रेष बक्तव्यमा नगर सभालाई बिधिपूर्वक सञ्चालन गर्दै सोही सभाबाट बिषयगत समिति मार्फत बजेट, नीति र कार्यक्रमहरु पारित गरिनुपर्ने एमाले सभासदहरुले उल्लेख गरेका छन् ।

उनीहरुले नगर सभामा उठाइएका संशोधनका बुँदाहरु बिषयमा छलफल गर्न कार्यपालिका बैठकतर्फ फर्किनुपर्ने अडान पनि राखेका छन ।

स्थानीय सरकार सञ्चालन ऐन र कार्यबिधिमा भएका व्यवस्थाहरु अन्तर्गत अबरुद्ध नगरसभालाई सुचारु गर्न समेत उनीहरुले सुझाएका छन् । सो बक्तव्यमा स्थानीय सरकार सञ्चालन ऐनको दफा ७१ को उपदफा ४ र ५ अनरुप नगर सभा सुचारु गर्न अनुरोध गरिएको छ ।

पत्रकार भेटघाटमा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज रोमनाथ ओली, प्रदेश सदस्य होमबहादुर थापा, अम्बिका खनाल, दमक नगर कार्यपालिका सदस्य तथा एमाले नेता लोकबहादुर घिमाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

पत्रकार भेटघाटको सहजिकरण दमक ८ का वडा अध्यक्ष एबम् एमाले नेता दिपेश दाहालले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *