काठमाडौँ, १४ साउन–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूमा पदलोलुपता हुन नहुने बताएका छन् । आज (शनिबार) राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवा पंक्ति अनुशासनमा हिँड्न आवश्यक रहेको बताए ।
युवाहरू पद बिनै बस्न नसक्ने अवस्था आयो भने पार्टीमा २०र३५ जनासम्म उपाध्यक्ष बनाउनु पर्ने अवस्था आउने उनले बताए । युवाहरूमा कमजोरीहरू देखा परेको भन्दै उनले भने, ‘युवाहरूका केही कमी कमजोरीका पक्षहरू पनि देखिएका छन् । युवाहरूमा ती कमी कमजोरीका पक्ष हुनु भएन ।
युवा उमेर भनेको भर्खर भर्खर राजनीतिमा प्रवेश गर्दै गरेको उमेर हो । यतिबेलै पदलोलुपता आयो भने, यतिबेलै महत्वाकांक्षा पलायो भने, पद बिनै बस्न नसक्ने अवस्था भयो भने, पदै दिनका लागि ३०र३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आउन सक्छ ।’
त्यस्तै युवाहरूले माथिल्ला पदहरूमा मात्र दाबी गर्ने हो भने पार्टी बलियो नहुने उनको भनाइ थियो । पछिल्लो समय राजनीतिमा युवापंक्तिलाई अवसर नदिइएको भन्ने आरोप लागिरहेका बेला ओलीले भने युवा उमेर भर्खर भर्खर राजनीतिमा प्रवेश गर्ने उमेर भएको बताए छन् ।
उनले थपे भने, ‘युवाहरूलाई माथिल्ला पद नभइ नहुने भएर ठूला(ठूला कमिटी बनाउनुपर्ने अवस्था आयो भने त्यो पनि राम्रो होइन । आफूले भने जस्तो भएन भने अनुशासन उल्लंघन गरेर हिँड्ने युवासुलभ गुण होइनन् । त्यसकारण युवाहरूमा वैचारिक स्पष्टता र दह्रोपन आवश्यक छ । त्यसलाई व्यवहारमा एकताबद्ध र अनुशासित रूपमा उतार्न सक्नुपर्छ । पद प्राप्तिका लागि होइन काममा प्रतिस्पर्धा गर्नुपर्छ ।’
अहिले पनि एमाले देशको सबैभन्दा ठूलो पार्टी भएको उनले बताएका छन् । चौतर्फी घेराबन्दीका बाबजुद पनि युवा शक्तिकै कारण एमाले देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टी भएको उनले बताए ।
