दमक, २८ श्रावण–श्री कृष्णअष्टमीको दिन भदौं ३ गतेदेखि देशभरका हलहरुमा प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी‘को टिमले प्रचार–प्रसारलाई तीब्र पारेको छ ।
प्रचार–प्रसारकै क्रममा यतिबेला कलाकार सहितको निर्माण पक्ष पूर्वको शहर दमक, बिर्तामोड, इटहरी र बिराटनगरमा आइपपुगेको छ । कलाकारसहितको टिमले दमकमा शनिबार पत्रकारसँग भेटघाट गर्दै चलचित्र सम्बन्धी जानकारी गराएको छ ।
उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । साथै उक्त चलचित्रमा स्थानीय कलाकारको समेत भूमिका रहेको छ।
श्री कृष्णअष्टमीको अवसर पारेर देशभरका हलहरुमा प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी‘ राम्रो बनेको निर्माता निरक पौडेलले बताए । चलचित्र हेर्न जाने दर्शकको रकम खेर नजाने बताउँदै उनले चलचित्र हेर्दा दर्शकले भरपुर मनोरञ्जन लिनेमा आफूहरू ढुक्क रहेको बताए।
हाँसो, पीडा, दुःख, सघर्ष, मिलन अनि बिछोड लगायतको कथा बस्तुमा आधारित चलचित्र माइकल अधिकारीले दर्शकको मन जित्नेमा कलाकार सौगात मल्ल बताउँछन् । करिब एक करोडको लागतमा बनेको चलचित्र झापा र ईलामको बिभिन्न स्थानमा छायाङकन गरिएको छ।
फाइन रेष्टुरेन्टमा आयोजित पत्रकार भेटघाटमा दमकस्थित पाथिभरा सेनिमा घरका सञ्चालक तथा चलचित्र व्यवसायी चैतन्य बराल पत्रकारहरुको समेतको सहभागिता थियो ।
