काठमाडौं, ७ भाद्र–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल नगर्ने निष्कर्ष निकालेको छ ।
आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको बैठकले उक्त निष्कर्ष निकालेको पार्टी प्रचार विभाग प्रमुख एवम् प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।
‘अहिले एमालर्को लोकप्रिय मत ३४ प्रतिशत हो । कांग्रेसको ३३ प्रतिशत र अरुको ८ र १० होला’, उनले भने, ‘गठबन्धन भएन भनेर चुनावमा जानै हुँदैन भन्ने होइन । गठबन्धन भएन भने एमाले चुनावमा जाँदै भन्ने होइन । एक्लैले चुनाव लडेर सबै कुराको सामना गर्छ ।’
उनले विचार मिल्नेसँग तालमेल हुन सक्ने बताए पनि माओवादीसँगको सम्भावना सकिएको बताएका छन् । ‘सुशासन समृद्धिको अभियानमा लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको एजेन्डा मिल्नेसँग तालमेल हुन्छ’, उनले थपे, ‘अब माओवादी र अन्य वाम दलहरुसँगको तालमेल सम्भावना सकिएको छ ।’
