काठमाडौं , ७ भाद्र–नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले विचार मिलेकै कारण आसन्न ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको उनले बताए।

एकता संयोजन समिति बनाउने र निर्वाचनपछि पार्टी एकता हुने सहमति आफूहरूबीच भइसकेको उनको भनाइ छ।

उनले भने, ‘माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा विचारको समानता छ। राजनीतिक कार्यदिशामा पनि एकरुपता छ। केही समय अगाडिसम्म हामी एउटै पार्टी नेकपामा सँगै थियौं। परिस्थितिले हामी अलग भएका छौं। तर फेरि पनि हामी वाम शक्तिहरू एक ठाउँमा आउनुपर्छ। यसमा सबभन्दा राजनीति मिल्नेहरू भनेको माओवादी र समाजवादी नै हो।’

उनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पनि एउटै घोषणापत्र बनाएर चुनावमा जानेबारे छलफल चलेको जानकारी दिए।

‘बाबुराम भट्टराईजी र वामदेव गौतमजीसँग पनि कुरा भइरहेको छ। सकेसम्म एउटै घोषणापत्र बनाएर जाने कुरा भइरहेको छ’ उनको भनाइ छ।

उनले सत्ता गठबन्धनमा रहेका कांग्रेससहित अन्य दलसँग न्यूनतम साझा कार्यक्रम बनाएर निर्वाचनमा जाने बताए। मुलुकको परराष्ट्र नीति, तथा सुशासन र विकासबारे समान धारणा बनाएर जनताका बीचमा लैजाने उनले स्पष्ट गरे।

राजनीतिक स्थायित्व, संविधानको रक्षा र संविधानमा उल्लेख जनताका अधिकार कार्यान्वयनका लागि वर्तमान सत्ता गठबन्धन बनेको चर्चा गर्दै उनले ती विषय पनि आफूहरुको साझा चुनावी एजेण्डा भएको उल्लेख गरे।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *