बिराटनगर, १७ भदौ प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल लगभग सकिएको छ । प्रदेशसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएसँगै अप्रत्याशित कुनै घटना नभए अब प्रदेशसभाको यो कार्यकालमा अर्को बैठक बस्ने छैन ।
आगामी मंसिर ४ गतेपछिको निर्वाचनबाट निर्वाचित सांसदसहित अब प्रदेशसभाको बैठक बस्ने छ । प्रदेशसभाको अधिवेशन अन्त्यसँगै सभामुख प्रदीपकुमार भण्डारीले सांसदहरुका लागि सामान्य चियापान आयोजना गरे । सांसदहरुले प्रदेशसभा भवनभित्रै फोटो सेसन पनि गरे ।
चियापानका क्रममा सभामुख भण्डारीले भने, ‘यो कार्यकालको बैठक लगभग सकिएको हो, अब अप्रत्याशित ढंगले कुनै विशेष अधिवेशन आह्वान गर्नुपर्न अवस्थामा मात्रै प्रदेशसभाको बैठक बस्नेछ, नभए हाम्रो कार्यकालको अन्तिम मानेर चियापानमा सहभागी हुनुहोला ।’ सभामुख भण्डारीले भनेजस्तै प्रायः सांसदहरुले संसद सचिवालयका कर्मचारीहरुसँग पनि बिदा मागेका थिए ।
पहिलो कार्यकालमा ३११ वटा बैठक, ३६४ घण्टा छलफल
संसद सचिवालयले दिएको जानकारी अनुसार प्रदेशसभाको साढे ४ वर्षको कार्यकालमा ३११ वटा बैठक बसेको छ । उक्त बैठकमा ३६४ घण्टा ४३ मिनेट छलफल भएको छ ।
हेर्नुहोस् तथ्याङ्क
तथ्यांक अनुसार प्रदेशसभाको पहिलो अधिवेशनमा ३९ वटा बैठक सञ्चालन भएको छ भने ३९ वटा विधेयक पारित भएको छ । यस्तै दोस्रो अधिवेशनमा ५२ वटा बैठक बस्दा १२ वटा विधेयक पारित भएको छ । तेस्रो अधिवेशनमा ३५ वटा बैठक बस्दा ६ वटा विधेयक पारित गरेको छ भने चौथो अधिवेशनमा ५४ वटा बैठकले १४ वटा विधेयक पारित गरेको छ ।
तथ्यांक अनुसार पाँचौं अधिवेशनमा २२ वटा बैठक बस्दा एउटा विधेयक पारित गर्दा छैठौं अधिवेशनमा ३७ वटा बैठक बसी १० वटा विधेयक पारित गरेको छ । यस्तै सातौं अधिवेशनबाट ८ बैठक बसे पनि कुनै पनि विधेयक पारित गरेको छैन ।
आठौं अधिवेशनमा २८ बैठक बसी ३ विधेयक पारित हुँदा नवौं अधिवेशनमा १२ वटा बैठक बसी १ विधेयक पारित भएको छ । दशौं अधिवेशनमा भने २४ वटा बैठक बसेर ४ वटा विधेयक पारित गरेको छ ।
संसदले पारित गरेका उल्लेखित विधेयकहरु संशोधनसहितका हुन् । हालसम्म पारित गरेको जम्मा विधेयकको संख्या भने ६३ वटा रहेको संसद सचिवालयले जनाएको छ ।
साढे ४ वर्षको समयमा सांसदहरूले शून्य समयमा ८ सय ८५ पटक, विशेष समयमा ५६ पटक, दलको तर्फबाट ६४ पटक र विधेयकमाथिको सैद्धान्तिक छलफलमा १ हजार ८२ पटक आफ्ना कुरा राखेका छन् ।
