झापा २० भदौ लागुऔषध ब्राउन सुगर बरामद गर्न पुगेको प्रहरीले स्रोत नखुलेको साढे १० लाख बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका(१५ स्थित निलकोठी निवासी ३० वर्षीया अप्सरा खातुन (राजवंशी) र ४३ वर्षीय मोहम्मद मोसाद आलम रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरू नाताले दाजु बहिनी हुन् । इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली विशेष सूचनाको आधारमा आइतबार बिहान ११ बजे अप्सराको घरमा लागुऔषध खनतलास गर्न पुगेको थियो ।
अप्सराको घरमा लागुऔषध बरामद नभए पनि ब्राउन सुगर नाप्ने मिनी डिजिटल तराजु दुई थान र नगद १० लाख ८२ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिए ।
पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । यता प्रहरीका अनुसार केही दिनअघि काठमाडौंमा २४० ग्राम ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी थिइन् । ती महिलाले झापाकी अप्सराबाट ब्राउन सुगर खरिद गरी ल्याएको प्रहरीलाई बयान दिएकी थिइन् । सोही बयानको आधारमा काठमाडौं प्रहरीले झापा प्रहरीलाई अप्सरालाई पक्राउ गर्न पत्राचार गरेको थियो ।
