झापा, २५ भदौ–आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अघि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । त्यसका लागि आयोगले नमुना मतपत्र समेत छापिसकेको छ । \
समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाई अघि जनक शिक्षा सामग्री केन्द्रमा मतदाता शिक्षा प्रयोजनका लागि नमुना मतपत्र छपाई गरिएको हो ।
निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी निर्वाचनमा बदर मत घटाउनका लागि आयोगले यो कार्यक्रम गर्न लागेको जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहसँग समन्वय गरेर नमुना मतदानको कार्यक्रम गर्ने तयारी छ । नमुना मतदानको काम दसैँ पछिबाट सुरु हुने उनले बताए ।
