दमक, २६ भदौं–छोटो समयमै दमकका सहकारी संस्थाहरुबीच अब्बल दर्जामा स्थापित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारणसभाको पूर्व सन्ध्यामा आज (आइतबार) वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ । दमक–६ बजारलाइनमा अवस्थित सूर्य दर्शन सहकारी संस्थाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर १३औं वार्षिक साधारणसभामा प्र्रस्तुत गरिने वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनकाबीच सो प्रतिवेदन सहकारी संस्थाका अध्यक्ष टीकाराज सापकोटा, प्रवन्ध निर्देशक अरुण भण्डारी, सञ्चालक समितिका सदस्य राजकुमार खड्का, कर्जा विभाग प्रमुख इश्वर नेपाल र वरिष्ठ लेखापाल होम श्रेष्ठले गर्नुभएको थियो ।
झापा जिल्लाको सवै पालिकाभरी कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको सहकारी संस्थाले १३औं वार्षिक साधारणसभालाई पाँच दिनसम्म क्षेत्रीय स्तरीयको भेला वा सभा आयोजना गरिने प्रवन्ध निर्देशक अरुण भण्डारीले जानकारी दिनुभयो । भोलि (सोमबार) भाद्र २७ गतेबाट सुरु हुने वार्षिक साधारणसभा भाद्र ३१ गते शुक्रबार सम्पन्न हुने संस्थाका प्रवन्ध निर्देशक भण्डारीले जानकारी दिनुभयो ।
सोमबारदेखि सुरु हुने वार्षिक साधारणसभामा सदस्यहरुलाई क्षेत्रीय स्तरका केन्द्रमा निमन्त्रणा गरिएको सस्थाका अध्यक्ष टीकाराज सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष सापकोटाका अनुसार सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै दमक–३ बेलडाँगीस्थित मन्दिर र कमल गाउँपालिकाको वडा नंम्बर ६ को कार्यालय भवनमा साधारण सभा हुने छ भने अरु बाँकी संस्थाको कार्यालयमा हुनेछ ।
सार्वजनिक गरिएको प्रतिवेदनमा संस्थाले गत आर्थिक बर्ष २०७८।०७९ को रु १ अर्ब ९५ करोडको वासलात प्रस्तुत गरेको छ । प्रतिवेदनमा संस्थाको शेयर पूँजी रु १२ करोड ९० बाट बृद्धि भई रु १६ करोड ७१ लाख रुपैयाँ पुगेको उल्लेख छ भने खुद नाफा रु १ करोड ८७ लाख रुपैयाँ रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक भण्डारीले संस्थाले सेवा केन्द्र स्थापना गर्ने योजनामा नरहेको प्रष्ट पार्नुभयो । भण्डारीले दमकका सहकारी संस्थाहरुबीच सूर्य दर्शन सहकारी सस्थाबीच अब्बल बनाउने योजनाका साथ लागिरहेको बताउनुभयो । वहाँले कोभिडको कारणबाट सृजना भएको परिस्थितिमा पनि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउनुभयो ।
कर्जा विभाग प्रमुख नेपालले संस्थामा चार हजार ६ सय बढी क्रियाशिल शेयर सदस्यहरु रहेको बताउनुभयो ।
