काठमाडौं, २८ भदौं–पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै डा गोविन्द केसी २०औं पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् ।
डा केसीले २०औं अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त कुरा बताएका हुन् । ‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा केसीले २०औं पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ डा भट्टराईले ट्वीटरमा लेखेका छन् ।
आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा। केसीले सोमबार धनगढीमा गई २०औं अनसन सुरु गरेका हुन् । ‘त्यहाँ विकृति विसंगति छ भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा सञ्चालन नगर्ने किन ? वेलैमा सोचौं,’ डा भट्टराईले भनेका छन् ।
