दमक, १० असोज–झापाको कमल–५ मंगलवारेस्थित सगुन युवा क्लवले आज आयोजना गरेको रक्तदानमा ४० पिन्ट रगत संकलन भएको छ । घटस्थापनाका अवसर पारेर आयोजना गरेको रक्तदानमा ११ महिलासहित ४० जनाले रगतदान गरेका थिए ।
चाडपर्वका समयमा रगतको अभाव हुन नदिन क्लवसहित पहिलो पाइला नेपाल, मंगलवारे वजार समितिको सहकार्यमा क्लवले खुला रक्तदान कार्यक्रम गरिएको क्लवका अध्यक्ष देवी आङदेम्बेले जानकारी दिए । रक्तदान रेडक्रस दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।
यसैगरि, आजनै क्लवले नवनिर्मीत सामुदायिक भवनको उद्घाटन गर्नुका साथै निशुल्क आँखा शिविर समेत सम्पन्न गरेको थियो । क्लवको माथिल्लो तलामा निर्माण गरिएको कार्यालय कक्षसहितको नवनिर्मित सामुदायिक भवनको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरे ।
क्लवका पूर्व अध्यक्ष समेत रहेका पालिका अध्यक्ष राईले समाज प्रति युवाहरुलाई खेलकुद ,मनोरञ्जनका माध्यमबाट जागरुक गर्नु पर्ने अझै खाँचे रहेको औल्याए । सामुदायिक भवन निर्माण गर्न गाउँपालिकासहित क्लवको आन्तरिक स्रोत गरि करिव ८ लाख रुपैयाको लागत रहेको जनाईएको छ ।
भवन उदघाटन कार्यक्रममा जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राई, मंगलवारे वजार समितिका अध्यक्ष ललित वान्तवा, समाजसेवी ऋषिकेश सुवेदी, क्लवका पूर्व अध्यक्ष प्रमोद दाहाल, डम्बर राई लगायतको समेत उपस्थिति रहेको थियो ।
सोहि अवसरमा क्लवले दमकको बिर्ताज्योति उपचार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरेको निशुल्क आखाँ शिविरमा ११० जनाले परीक्षण गराएको सचिव रोशन दाहालले जानकारी दिए ।
