कनकाई, १४ असोज–झापाको कनकाई नगरपालिकामा स्वतन्त्र नागरिक कार्य सम्पादन समूहको सम्पर्क कार्यालय स्थापना भएको छ । कनकाई नगरपालिको कार्यालय अगाडि आज समूहको कार्यालय स्थापना भएको हो । उक्त कार्यालयको अधिवक्ता हरि उप्रेतीले उद्घाटन गर्नुभयो ।
समूहका संयोजक शेरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले प्रजातन्त्र, समाजवाद, गणतन्त्र लगायतका नाममा जनतालाई लोभ्याइएको तर वास्तविक परिवर्तनको अनुभूति जनताले गर्न नपाएको बताउनुभयो । उहाँले अब जनता सचेत भएर लाग्नुपर्ने बेला आएको समेत औंल्याउनुभयो । व्यवस्था परिवर्तनमा लागेकाहरु अहिले भ्रष्टाचार र कमिशनखोरमा परिणत भएर छुट्टै वर्गमा रुपान्तरण भएको उहाँको भनाइ थियो ।
त्यस्तै, कार्यक्रमका विशेष अतिथि सामाजिक एवम् राजनीतिक व्यक्तित्व युक्त भेटवालले पछिल्लो समय जनताले विकल्प खोजिरहेको उल्लेख गर्नुभयो । आसन्न चुनावमा ठीक ठाउँमा मतदान गरेर जनताले जनताकै स्वतन्त्र छोराछोरीलाई मुलुकको समृद्धिको खाका कोर्न अवसर दिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा चन्द्रमोहन उप्रेतीले स्वतन्त्र उम्मेदवार हारे वा जेति जे भए पनि जनताको सेवा गर्न तल्लीन रहने बताउनुभयो । समूहका वडा नं। ६ का अध्यक्ष मेदनी बिमलीले आफूहरु नयाँ अभियानमा जुटेको बताउनुभयो । राजनीतिविरुद्ध नभएर आफूहरु राजनीतिक सुधारको पक्षमा रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा समूहका संयोजक शेरबहादुर थापाले स्थानीय निर्वाचन ताका आफूले जिते पनि हारे पनि जनताको सेवामा सदैव समर्पित हुने बचा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनतासँगको बाचा क्रमशः पूरा गर्दै जानेछु, त्यसको शृङ्खला अनुरुप सम्पर्क कार्यालय स्थापना भएको हो ।” सहीलाई समर्थन र गलतको विरोध गर्न स्वतन्त्र नागरिक समूह सदैव तत्पर रहने उहाँको भनाइ थियो ।
समूहका सदस्य दीनानाथ खतिवडाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन दीपक ओलीले गर्नुभएको थियो भने कार्यक्रममा लक्ष्मी गुरुङ लगायत समूहका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यसैबीच, झापा क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यका लागि युक्त भेटवालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । स्वतन्त्र नागरिक कार्य सम्पादन समूहका संयोजक शेरबहादुर थापाले आज उम्मेदवारी घोषणा एवम् दशैंको शुभकामना आदानप्रदान कार्यक्रमका बीच भेटवालको उम्मेदवारी घोषणा गर्नुभएको हो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार भेटवालले जनताको सेवामा सदैव समर्पित रहेको र जनताको सेवा गर्ने उद्देश्यले नै उम्मेदवार बनेको बताउनुभयो । उहाँले जनता दल भन्दा असल व्यक्तिको खोजीमा रहेको उल्लेख गर्नुभयो ।
