धरमपुर, २१ असोज–नेकपा (एमाले) ले मंसीर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा उम्मेदवारी तय गरेको छ । पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको नाम फाइनल भएको जानकारी दिए । केही निर्वाचन क्षेत्रमा भने अन्तिम नाम आउन बाँकी रहेको भए पनि दुईजनाको नाममा छलफल भइरहेको उनको भनाई छ ।
नेता घिमिरेले भने–‘यो नै अन्तिम नाम हो भनेर अहिले नै किटान गरिहाल्न मिल्दैन, कतिपय संघका आकांक्षीलाई प्रदेशसभामा पठाइएको छ, उहाँहरुको सहमति पछिमात्र भोलि दिनभरमा उम्मेदवारको टिकट बनेर जिल्ला जिल्लामा आइपुग्ने भएकाले केही नाम फेरबदल पनि हुन सक्ने सम्भावना छ । ’
घिमिरेका अनुसार झापाबाट प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नं १ मा अग्निप्रसाद खरेल, क्षेत्र नं २ मा देवराज घिमिरे, क्षेत्र नं ३ मा तालमेलका लागि खाली, क्षेत्र नं ४ मा लालप्रसाद सावाँ र क्षेत्र नं ५ मा केपी शर्मा ओलीको उम्मेदवारी रहनेछ ।
यस्तै, निर्वाचन क्षेत्र नं ४-क मा राधाकृष्ण खनालको उम्मेदवारी रहनेछ भने ख क्षेत्र तालमेलका लागि खाली छाडिएको छ । खनाल शिबसताक्षी–१ धरमपुर निवासी हुन । लामो समयदेखि एमाले झापा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, क्षेत्रीय इन्चार्ज हुदै पछिल्लो समय प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहदैं आइरहेका छन् ।
साविक धरमपुर–३ पाराबारीस्थित भानु माध्यमिक विद्यालयमा कार्यरत खनालले अघिल्लो पटकका स्थानीय तहको निर्वाचनको समयमा विद्यालयबाट स्वच्छिक अवकास लिएका थिए ।
