दमक, २४ असोज–झापा निर्वाचन क्षेत्र नंम्बर ५ मा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन चुनावी अभियान शुरु गरिएको छ । कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा सोमबार भएको गठबन्धन दलहरुको भेलाले सबै दलहरुका स्थानीय नेतृत्व सम्मिलित निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । उक्त समितिले आवश्यक अन्य उपसमितिहरु गठन गर्ने जनाईएको छ ।
गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार कांग्रेसका डा.खगेन्द्र पाण्डव अधिकारी, प्रदेशसभातर्फ ‘क’ का उम्मेदवार कांग्रेसका जवीन राई र ‘ख’का उम्मेद्वार माओवादी केन्द्रका रेवतराज पुरीले निर्वाचन परिचालन समितिले तयार गरेको कार्यतालिका अनुसार अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
भेलामा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु, माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ, नेकपा एकिकृत समाजवादी केन्द्रीय सदस्य ईन्द्र बुढाथोकी लगायतका नेताहरुले बोल्दै संबिधानको रक्षा र नागरिक अधिकारको लागी सत्ता गठबन्धनलाई जिताउनै पर्ने जोड दिए । नेताहरुले गठबन्धबाट जुनसुकै पार्टीको उम्मेदवार भए पनि आफ्नै पार्टी सम्झिएर जिताउन परिचालित हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।
भेलामा प्रतिनिधिसभाका उम्मेदवार अधिकारीले अघिल्लो पटक एमालेसंग राप्रपासहितको महागठबन्धन हुँदा त एक्लै भिडेको भन्दै अहिले आफुहरु जितको नजिक रहेको बताए । कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी सहितका जनाधार भएको पार्टीको गठबन्धन र राप्राका कार्यकर्ता सहित सामान्य नागरिकको समेत आफुहरुलाई समर्थन रहेकाले जित निश्चित रहेको उनले जोड दिए ।
