झापा ,२४ असोज–तास खेलेको विषयमा हारजीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई आज झापा प्रहरीले सार्वजनिक गरेको छ ।
अर्जुनधरा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा विजयादशमीको महाअस्टमीका दिन राति तास खेलेको विषयमा हारजीत हुदाँ २५ वर्षीय नबिन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले महिलासहित तीन जनालाई सार्वजनिक गरेको हो ।
प्रहरीले सार्वजनिक गरेका आरोपीहरुमा इलाम–१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम–१२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ–७ घर भई सोही होटल बस्ने आचार्यकी श्रीमती २३ वर्षीया बिमला राई रहेका छन् ।
गत असोज १८ गते साविक ताप्लेजुङ्ग सिदिम्वा गाविस ४ सुरुमखिम घर भई हाल अर्जुनधारा ११ स्थित बसपार्क एरियामा बस्तै आएका गुरुङ्को लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
घटनामा संलग्न थप केहि फरार रहेकाले उनीहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए । उनका अनुसार विजया दशमीको फुलपातीका दिन उनीहरुले होटलमा तास खेलेको र पैसा हारजितको बिषयलाई लिएर विवाद हुदाँ उक्त घटना भएको अनुसन्धानमा खुलेको छ ।
तास खेल्ने क्रममा विवाद हुँदा गुरुङलाई साथीहरुले टाउको पछाडिको भाग र नाकमा अचार पिस्न प्रयोग गरिने ढुङ्गाको लोहोराले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक रुगम वहादुर कुँवरले जानकारी दिए ।
