धरमपुर, २७ असोज–झापा निर्वाचन क्षेत्र नं ४ प्रदेश १ को शिबसताक्षी नगरपालिकाको वडा नं १ र २ धरमपुरमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितको संयु्क्त गठबन्धनका उम्मेदारहरुले परिचयात्मक तथा घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
कांग्रेस क्षेत्र नं ४ प्रदेश १ क्षेत्रीय समितिका सभापति बिनोद ढकालका अनुसार उम्मेदवारसहितको धरमपुरमा परिचयात्मक तथा घरदैलो कार्यक्रममा स्थानीयवासीले उत्साहजनक सहभागिता जनाउनुका साथै निर्वाचनमा मन र भोट दिएर बिजय गराउने प्रतिवद्धता गरेका थिए ।
गठबन्धनबाट प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवारसमेत रहनुभएका कांग्रेस झापा सभापती देउमान थेबे, प्रदेश सभा ४ (१) का उम्मेदवार समेत रहनुभएका माओवादी केन्द्रका नेता झलकबहादुर मगर (दर्लामी) र समानुपातिक उम्मेदवार लखी गणेश छन् ।
शिबसताक्षी नगरपालिकाको दुधेमा हिजो (बुधबार) मात्रै निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । उम्मेदवारको घरदैलो कार्यक्रममा निर्वाचन प्रचारप्रसार समितिका संयोजक तथा कांग्रेस नेता जयनारायण शाह, कांग्रेस क्षेत्र नं ४ (१) का क्षेत्रीय सभापति तथा प्रदेश स्तरीय निर्वाचन परिचालन समितिका संयोजक बिनोद ढकाल, क्षेत्रीय सह–संयोजक तथा माओवादी नेता रामबहादुर राई, शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, कल्पना कार्की, नगर संयोजक अशोक बस्नेत, सहसंयोजक महेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कांग्रेस नेता ढकालले क्षेत्र नं ४ को १ मा उम्मेदवारसहित मतदाताहरुसंग परिचय र घरदैलो कार्यक्रम गरिएको र भोली शिबसताक्षी–३, ४ र ५ मा घरदैलो कार्यक्रम गरिने बताए । ढकालका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ थेबेलाई रुख चुनाव चिन्ह्र र प्रदेश १ मा सदस्यतर्फ झलक मगरलाई (गोलाकारभित्र हसिया हतौडा) मा मतदान गर्न आग्रह गरिएको थियो ।
