काठमाडौं, ५ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।
नेता भीम रावल र एमाले परित्याग गरेका घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने छ र ? भन्दै प्रश्न समेत गरेका छन् । आज (शनिबार) पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर सो अवसर अरुलाई दिइएको स्पष्टिकरण समेत दिए ।
ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरु एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरुले फेरि टिकट नपाउनु स्वभाविक भएको बताउँदै त्यसको पछि नलाग्न पनि पार्टी पंक्तिलाई सचेत गराए । उनले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षामा आधारित हुने पनि स्पष्ट पारे ।
आवश्यकता भन्दा बढी अवसर पाएकाहरु फेरि पनि अवसरको पछि कुँदेको भन्दै ओलीले त्यस्ता प्रवृत्तिको पछि लाग्न नहुने बताए । अध्यक्ष ओलीले आगामी दिनमा योग्यता, क्षमता र योगदानको आधारमा हरेकलाई अवसर दिने प्रतिबद्धता समेत व्यक्त गरे । अध्यक्ष ओलीले मंसीर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न सबैलाई आह्वान गरे ।
उनले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको दोहोर्याउँदै त्यस लक्ष्य प्राप्तिका लागि आगामी मंसीर ४ गतेको निर्वाचन सार्थक हुने विश्वास समेत व्यक्त गरे ।
अध्यक्ष ओलीले भने, ‘अब परमादेश होइन् जनादेश खास गरी मंसीर ४ गतेको निर्वाचनबाट जनादेशमार्फत् बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकार यसको व्यवस्था हामी मंसिर ४ गतेको निर्वाचनबाट गर्दैछौं ।’
उनले थपे, ‘त्यसकारण म सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरुलाई यो निर्वाचन साधारण आवधिक निर्वाचन मात्रै होइन । यो निर्वाचन वास्तवमा असाधारण निर्णय गर्नुपर्ने, देश जित्ने कि हार्ने भन्ने कुराको टुंगो लाग्ने निर्वाचन यस्तो फैसला गर्नुपर्नेछ, यस निर्वाचनबाट। म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु–यो निर्वाचनलाई हामीले सार्थक निर्वाचन र देशका निम्ति, देशको हितको पक्षमा फैसला गर्ने गरीको निर्वाचनको रुपमा यसलाई अगाडि बढाउन म सबैलाई योगदान गर्न आग्रह गर्न चाहन्छु ।’
अध्यक्ष ओलीले परमादेशी सरकार बनाउने गम्भीर गल्ती विगतमा गरे पनि अब न्यायालयले त्यस्तो खालको गल्ती नगरोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताए ।
