धरमपुर, ५ कार्तिक–झापाको शिबसताक्षी–१ धरमपुरमा बुधबारका दिन साप्ताहिक रुपमा सञ्चालन हुने धरमपुर बजार व्यवस्थापन समितिले शनिबार आय–व्यय सार्वजनिक गरेको छ । सोही अवसरमा बजार व्यवस्थापन समितिले शुभदिपावली, छठ, फाल्गुनन्द जन्मजयन्ती, नेपाल सम्वत, उधौली–उभौली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशीको अध्यक्षतामा धरमपुर चौकमा आज बिहान आयोजित एक कार्यक्रमकाबीच आर्थिक वर्ष २०७८।०७९ सालको आय–व्यय सार्वजनिक गरिएको हो ।
बजार व्यवस्थापन समितिका अध्यक्ष जोशीद्धारा प्रस्तुत गरिएको प्रतिवेदनमा आर्थिक बर्ष २०७८।०७९ मा आम्दानीतर्फ २०७७।०७८ को नगद जम्मा रु १२ हजार २ सय ९०, बुधबारे साप्ताहिक हाटकरबाट रु ४९ हजार ८ सय ७०, हाँट बजारको भिटौरीबाट रु ५८ हजार नौ सय ९० गरी जम्मा रु १ लाख २१ हजार १ सय ५० उल्लेख गरिएको छ ।
त्यस्तैं, प्रतिवेदनमा खर्चतर्फ शिबसताक्षी नगरपालिकाद्धारा बजार टेण्डर फारम रु ३०००, टेण्डर बैंकमा जम्मा गरेको रु ४५ हजार ४ सय ५०, गोसखानमा कल खरिद तथा मिस्त्री ज्याला बापत रु ३ हजार ७ सय १०, सरसफाई गर्नेलाई रु १ हजार ५ सय, अघिल्लो वर्षको आयव्यय सार्वजनक कार्यक्रममा कुसी, साउण्ड सिस्टम र चिया–नास्तामा रु ३ हजार १ सय, धरमपुर चौकको उत्तरतर्फको सडक किनाराको सरसफाई र चौकमा राखिएको फूलका गमलाको रंगरोगनमा रु ४ हजार ७ सय, बजार टहरा मर्मतका लागि बाँस खरिद र मिस्त्रीलाई रु २ हजार ५ सय, फूल रोप्नका लागि गमला खरिदसहित रंग लगाउदा रु नौ हजार १ सय, गमलामा स्टेन बनाउन फलाम खरिदमा रु ५ हजार २ सय ८०, बजार क्षेत्रमा बिजुलीको पोलमा रात्रीकालिन बक्ति जडानमा रु १४ सय ५०, टहरा मर्मतका लागि बाँस र तार खरिदमा रु ७ हजार ८ सय ४०, बजारभित्रको सडकको दायाँबायाँ ढल सरसफाईमा रु २ हजार ७ सय, बजार सञ्चालनमा प्रचार प्रसार र प्रवद्र्धन गर्न आयोजित मनोञ्जनात्मक कार्यक्रममा रु १३ हजार ५ सय १८, स्थानीय पत्रपत्रिकामा शुभकामना प्रकाशनमा रु २ हजार र शिबसताक्षी उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई वापत रु १५ सय गरी जम्मा खर्च रु १ लाख ७ हजार ३ सय ४८ उल्लेख छ ।
सो कार्यक्रमममा शिबसताक्षी–१ का वार्ड अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले धरमपुर बजारको प्रवद्र्धन र विकासको निम्ति वार्ड कार्यालयको तर्फबाट सकारात्मक साथ र सहयोग रहने बताउनुभयो । सडकको दुबै किनारामा लाग्दै आइरहेको हाँट बजारका लागि उचित जग्गाको खोजी गर्न वा जमिन लिजमा लिएर बजार सञ्चालन गर्न वार्ड कार्यालयले बजार व्यवस्थापन समितिसंग सहकार्य गर्ने वार्ड अध्यक्ष चेम्जोङले सो कार्यक्रममा बताउनुभयो ।
त्यस्तैं, कार्यक्रममा बजार व्यवस्थापन समितिका सल्लाहकार संयोजक तथा धरमपुरका सामाजिक अगुवा चन्द्रवीर नेम्बाङले नगरपालिकाले बजार व्यवस्थापनको निम्ति पहल गर्नुका बदलामा कर थुपारेर अन्याय गरेको चिन्ता व्यक्त गर्नुभयो । वहाँले चौकको सडकको किनारामा सञ्चालन भइरहेको बजार, बाँसद्धारा निर्माण गरिएको अस्थाई टहराको मर्मतका लागि बजारले गरिरहेको खर्चलाई नगरपालिकाले सहयोग नगरेर प्रत्येक बर्ष टेण्डर मार्फत ठेक्का लगाइरहेको भन्दै, त्यसलाई पुर्नबिचार गर्न आग्रह गर्नुभयो ।
सो कार्यक्रममा बजार व्यवस्थापन समितिका उपाध्यक्ष कुबेरधन रिजालले स्वागत मन्तव्य गर्नुभएको थियो । कार्यक्रममा पत्रकार अनिलदेब राई, सल्लाहकार माधब भण्डारी, वार्ड सदस्य नारायण प्रसाद रिजालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बजार व्यवस्थापन समितिका सचिव एबम् धरमपुरका युवा व्यवसायी मोहन सेनचुउरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वार्ड सदस्य उमा माझी, वार्ड सदस्य तथा युवा नेता पुर्णजग चेम्जोङ, व्यवसायी निहाङ किराती, कलाकार धिरज परियार, सल्लाहकार नरेन्द्र बोहोरा, सामाजिक अगुवा जयकुमारी चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।
