काठमाडौं, ७ कार्तिक–लक्ष्मी पूजाको दिन आज बालबालिका र कलाकारले राष्ट्रपति निवास शीतल निवासमा देउसीभैलो खेलेका छन्।
राष्ट्रपतिको सरकारी आवास रहेको शीतल निवासमा सोमबार दिउँसो सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाको टोलीले देउसीभैलो खेलेको हो। देउसीभैलोमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित उनको परिवार उपस्थित थियो।
दौरा, सुरुवाल र नेपाली टोपी अनि गुन्यू चोली र सारीलगायत पहिरनमा सजिएका देउसे भैलिनीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएका थिए। टोलीले मादल घन्काउँदै देउसीभैलोको बीचबीचमा गीत संगीत समेत प्रस्तुत गरेको थियो।
कार्यक्रममा कलाकारले ‘जाग, लम्क, चम्क हे नौजवान हो’ लगायत केही राष्ट्रप्रेम झल्किने गीत पनि प्रस्तुत गरेका थिए। बालमन्दिरका बालबालिकाले पनि नृत्य प्रस्तुत गरेका थिए।
देउसीभैलोसँगै सबै सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिलाई राष्ट्रपति भण्डारीले अभिरुचिपूर्वक हेरेकी थिइन्। प्रस्तुति सकिएलगत्तै उनले देउसे टोलीलाई तिहारका परिकारसहित नाङलोमा राखेर दक्षिणा दिएकी थिइन्।
यसपछि भैली टोलीले आशिष दिएको थियो। आशिषमार्फत राष्ट्रपति भण्डारीको उन्नति, प्रगति तथा सुस्वास्थ्यको कामना गरिएको थियो।
‘घरमा लक्ष्मीले वास गरुन्‚ आगामी वर्ष पनि आउन पाऊँ’ लगायत आशिष देउसेभैलीले दिएका थिए। राष्ट्रपतिबाट पाएको दक्षिणाले सामाजिक काम गर्ने जानकारी पनि उनीहरूले आशिषमै गराएका थिए।
अन्त्यमा भैलो टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक तस्वीर लिएपछि देउसीभैलो सकिएको थियो।
