काठमाडौं, ८ कार्तिक–प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा टिकट वितरणप्रति असन्तुष्टी जनाएका नेताहरुले बागी उम्मेदवारी दिँदा दलका कतिपय उम्मेदवार जोखिममा पुगेका छन्। जनतामाझ लोकप्रिय नेताहरुले नै टिकट नपाएपछि बागीको बिगबिगी बढेको हो। बागी उम्मेदवार उठ्दा कतिपय स्थानहरुमा दलका उम्मेदवार नै ‘रेड जोन’मा छन्।

एमालेका नेता घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि रुपन्देही–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। २०७४ सालको निर्वाचनमा विजयी भएका भुसालले बागी उम्मेदवारी दिएपछि एमालेका आधिकारिक उम्मेदवार छविलाल विश्वकर्मा संकटमा परेका छन्। भुसाललाई सत्ता गठबन्धनको समर्थन छ। त्रिभुज चुनाव चिह्नबाट मैदानमा उत्रिएका भुसाल यसपटक पनि संसद यात्राको तयारीमा छ।

त्यस्तै काठमाडौं–७ मा एमालेका श्याम कुमार घिमिरे विरुद्ध एमालेका रामवीर मानन्धरले बागी उम्मेदवारी दिएका छन्। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको सहयोगमा निर्वाचित भएका मानन्धरले पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका हुन्। वि। सं २०४८ सालमा वडाध्यक्षमा निर्वाचन भएका उनी यसपटक स्वतन्त्रबाट चुनाव जित्ने दाउमा छन्।

सुनसरी क्षेत्र नम्बर १ मा एमालेले जनता समाजवादी पार्टीलाई छोडेपछि असन्तुष्ट बनेका मनोज मेयाङ्बोले यसपटक स्वतन्त्र उम्मेदवारी दिएका छन्। पार्टीले जसपाका अशोक राईलाई समर्थन गरेसँगै मेयाङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। मतदाता माझ लोकप्रिय नेताको रुपमा चर्चा कमाएका मेयाङ्बोले यसपटकको चुनाव जित्ने आंकलन गरिएको छ। राई एमाले पूर्व नेतासमेत हुन्। सुनसरी–१ बाट २०७४ सालको निर्वाचनमा एमालेका जयकुमार राई विजयी भएका थिए।

मोरङ– ५ मा योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेले जनता समाजवादी पार्टीलाई समर्थन गरेसँगै मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनले एमाले र सत्ता गठबन्धनका उम्मेदवारको मत काट्ने आँकलन गरिएको छ। यस क्षेत्रबाट २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट माओवादी केन्द्रका शिव मण्डल विजयी भएका थिए।

दाङ–मा एमालेका शान्ता चौधरी विरुद्ध गंगा चौधरीले बागी उम्मेदवारी दिएकी छन्। २०७४ सालको निर्वाचनमा समानुपातिक उम्मेदवार गंगाले यसपटक पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दिएकी हुन्। उक्त क्षेत्रबाट सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी उम्मेदवार छन्। उक्त क्षेत्रमा एमालेले आफ्ना पूर्व सहकर्मी विरुद्धको उम्मेदवार भारी पर्ने देखिएको छ।

धनुषा–४ मा एमालेका रघुवीर महासेठविरुद्ध एमालेका कृष्णकुमार महतोले उम्मेदवारी दिएका छन्। लगातार एउटै व्यक्तिलाई टिकट नदिएको भन्दै आक्रोश पोखेका महतोले बागी उम्मेदवारी दिएका हुन्। बारा–३ मा एमालेकी ज्वालाकुमारी साहविरुद्ध कलामुद्दिन अन्सारीले उम्मेदवारी दिएकी छन्। साथै दैलेख–१ मा एमालेका रवीन्द्रराज शर्माविरुद्ध एमालेका गोपाल नेपालीले बागी उम्मेदवारी दिएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *