दमक, १४ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दमक नगर कमिटीले आज (सोमबार) एक बिज्ञप्ती प्रकाशन गरेर दमकका दुई चार जना व्याक्तिहरुले पार्टी छाडेर गएकोे र ती व्याक्तिहरुको कारण पार्टी दमक नगर कमिटीलाई क्षति नपुगेको स्पष्ट पारेको छ । दमकमा नेकपा (एकीकृत समाजवादी) को आन्दोलन र कान्तिकारी सिद्धान्त, बिचार, नैतिकता, आचरणमा बस्न नसक्ने केही व्याक्तिहरु पार्टी छाडेर अन्यत्र बिलय भएको एकीकृत समाजवादी दमक नगर कमिटीले प्रेष बिज्ञप्तीमा स्पष्ट पारेको छ ।
बिज्ञप्तीमा केही अवरवादी र सिमित व्याक्तिहरुले पार्टी छाडेर गएको तर बाहिर सार्वजनिक भएको संख्यामा कुनै सत्यता नभएको समेत स्पष्ट पारिएको छ । पार्टीको आन्दोलन र क्रान्तिकारी सिद्धान्त र बिचारबाट पलायन भएर पार्टीलाई नै घात–अन्तर्घात, क्रान्ति–प्रतिक्रान्ति गर्ने व्याक्तिहरुले एकीकृत समाजवादीलाई फाइदा भन्दा बेफाइदा हुने सो बिज्ञप्तीमा जनाइएको छ ।
अवसरबादतर्फ उन्मुख व्याक्तिहरुले पार्टीको आन्दोलनलाई सिध्याउने भूमिका बाहेक अरु केही प्रगती नपुग्ने भन्दै दमकमा क्रियाशिल तथा शुभेच्छुकहरुलाई धर्य रहन आग्रह गरिएको छ । विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारहरुको पछाडी नलाग्न र गठबन्धनका साझा उम्मेदवारलाई बिजय गराउनका लागि निर्वाचनको अभियानमा जुटन बिज्ञप्ती मार्फत अपिल गरिएको छ ।
साथै, मंसिर ४ मा सम्पन्न हुन लागिरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले देशभरी गठबन्धन मार्फत साझा उम्मेदवारहरु तयारी गरेर निर्वाचनको प्रचार प्रसारमा जुटिरहेको अवस्थामा आफ्नो पार्टीलाई कमजोर बनाउन केही व्याक्ति वा दलले योजनाबद्ध काम गरिरहेकोमा खेद व्यक्त गरिएको छ ।
निर्वाचनको अभियानमा भ्रामक र अनर्गल प्रचारहरु आउनु भनेको प्रतिद्वन्दीहरुको हतास मानसिकताको उपज भएको समेत एकीकृत समाजवादी दमक नगर कमिटीले दाबी गरेको छ । हार–पराजयको अवस्थामा पुगिसकेका केही व्यक्तिको छट्पटी र बेचैनीको कारण भ्रमित समाचारहरु प्रकाशन र प्रसारण गरेर अनेकौ प्रपञ्चहरु बनाइरहेको भन्दै त्यस्तो भृणित कार्य गर्न वा नगराउन सम्बन्धीत पक्षलाई चेतावनी दिएको छ ।
समतामूलक, समृद्ध राष्ट्र निर्माणको निम्ति चुनावी अभियानमा होमिएर वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार डाक्टर खगेन्द्र पाण्डव अधिकारीलाई रुख चिन्हमा, प्रदेश ५ (२) तर्फ नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रेवतराज पुरी (गगन) लाई गोलाकारभित्रको हँसिया हथौडामा र समानुपातिकतर्फ कलम चिन्हमा मतदान गरेर विजयी गराउनुहुन सम्पुर्ण नेता कार्यकर्ता एवं आम जनसमुदायमा बिज्ञप्ती मार्फत अपिल गरिएको छ ।
नगर कमिटीका अध्यक्ष महेश घिमिरे र सचिव सुवास सुवेदीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा नेपाली कम्युनिस्ट क्रान्तिको वास्तविक जनमुखी व्यवहारको मर्म, क्रान्तिकारी सिद्धान्त, विचार, नैतिकता र आचरणको रक्षार्थ नेकपा (एकीकृत समाजवादी) ले गरेको विद्रोह एउटा लामो र महान कम्युनिस्ट आन्दोलनको निरन्तरता भएको कुरा जगजाहेर रहेको सो बिज्ञप्तीमा खुलाइएको छ ।
