दमक, १७ कार्तिक–झापाको दमक नगरपालिका वार्ड नं ९ मा निर्माणधिन दमक सभाहल (भवन) को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
भवन निर्माणको काम सम्पन्न भएपनि यसको आन्तरिक साजसज्जा र विद्युत्, पानी बत्ती जडान गर्ने लगायतका काम धमाधम भइरहेका छन् । विकासले परिवर्तन भएको मानिसको जीवन शैली अनुसार हरेक विकासले आधुनिकता तिर लम्किएको अनुभव गराउँछ ।
सभाहल देशकै नमुनाको रूपमा रहेको जनाइएको छ । दमक नगरपालिका भित्र निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न दमक सभाहल विकासको एक बिम्बको रूपमा मानिएको छ । पुरैसभाहल भित्र वातानुकूलित सिस्टम जडान गरिएको छ । चारवटा ब्लकलाई जोडेर निर्माण गरिएको सभाहलमा एउटा ठुलो हल १५ सय जना मानिस अटाउने क्षमता रहेको हल छ भने सानो २ सय ५० जना अटाउने क्षमता रहेको जनाइएको छ । त्यस्तै हल भित्र नै भव्य रेस्टुरेन्ट समेत रहने छ ।
स्थायी रूपमा डिजिटल साउण्ड सिस्टम जडान गरिएको छ । त्यस्तै पुल साउण्ड प्रुफ हुने छ । दमक सभाहल भवन २८ करोड ४० लाख ५८ हजार ८ सय ८८ रुपैयाँमा सम्पन्न भएको जनाइएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलाम मार्फत निर्माण सम्पन्न भएको हो ।
सभाहलमा आधुनिक प्रविधि समेत जडान गरिएको जनाइएको छ । सभाहल निर्माणका लागि लगभग एक बिगाहा क्षेत्रफलमा घेरवार गरिएपनि भवन लगभग ८ कठ्ठा क्षेत्रमा निर्माण सम्पन्न भएको इन्जिनियर महासेक चौधरीले जानकारी दिनुभयो । दमक नगरपालिका मातहतमा रहने उक्त सभाहल चाडै सञ्चालनको तयारीमा रहेको जनाइएको छ ।
