भद्रपुर, १९ कात्तिक–मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले जिल्लाका सबै वडामा स्वयम्सेविका परिचालन गरिने भएको छ ।
मतदाता शिक्षा अभिबृद्धि गर्ने उद्देश्यले जिल्लाका १३१ वटै वडामा एक÷एक जना स्वास्थ्य स्वयम्सेविका परिचालन गर्न लागिएको निर्वाचन कार्यालय झापाका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिनुभयो ।
त्यस्तै, जिल्लाका १५ वटै स्थानीय तहमा नमूना मतदान समेत गरिने उहाँले बताउनुभयो । भद्रपुर–१० स्थित वीरेन्द्र माविमा बिहीबार नमूना मतदान गरी उक्त कार्यको थालनी गरिसकेको छ ।
यता, झापामा निर्वाचनका लागि आवश्यक ९५ प्रतिशत निर्वाचन सामग्री प्राप्त भएको छ । निर्वाचन सम्पन्न गर्न आवश्यक सामग्रीमध्ये ९५ प्रतिशत सामग्री प्राप्त भएको र उक्त सामग्री पाँच वटै निर्वाचन क्षेत्रमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
गत स्थानीय तहको निर्वाचन भन्दा झापामा १३ हजार नयाँ मतदाता थपिएका छन् । योसँगै झापामा छ लाख ६३ हजार ३११ जना मतदाता कायम भएको छ । मतदाताको अन्तिम नामावली समेत टुगिंसकेको कार्यालयले जनाएको छ ।
जिल्लामा पुरुषको तुलनामा एक हजार २१५ जना महिला मतदाता बढी छन् । पुरुष तीन लाख ३१ हजार ४४ जना, महिला मतदाताको संख्या ३ लाख ३२ हजार २६९ जना र अन्य मतदाता संख्या ८ रहेको छ ।
आसन्न निर्वाचनमा कैदीबन्दी, कर्मचारी, प्रहरी, सेना, अन्य गरी छ हजार २४२ जना अस्थायी मतदाताले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन् ।
झापामा २८५ मतदान स्थलमा ७६८ मतदान केन्द्र रहेछन् । तीमध्ये ३७१ मतदान केन्द्र संवेदनशील, २८१ अतिसंवेदनशी र ११६ मतदान केन्द्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । इजाजत लिएका हतियार समेत बुझाउने काम भइरहेको प्रजिअ रिजालले बताउनुभयो । यस विषयमा मातहतका प्रहरी युनिटसमेत निर्देशन दिइएको उहाँको भनाइ छ ।
“अवस्था अनुसार मतदात केन्द्रको संवेदनशीलता फरक पर्न सक्छ”, उहाँले भन्नुभयो, “निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने कुरामा हामी संवेदनशील छौं ।” निर्वाचनलाई मर्यादित र सफल बनाउन राजनीतिक दलहरुसँग छलफल जारी रहेको बताउनुभयो ।
यता, जिल्ला आचार–संहिता अनुगमन अधिकृत मधु पोखरेलले झापामा छिटपुटरुपमा मात्र आचारसंहिता विपरीतका घटना भएको बताउनुभयो । निर्वाचन आचारसंहिता उल्लघंनका घटना रोकथामका लागि पनि जिल्लाभर जनशक्ति परिचालन गरिएको जानकारी दिँदै उनले राष्ट्रपतिदेखि मतदातासम्मले आचारसंहिताको पालना गर्नुपर्ने उल्लेख गर्नुभयो ।
