दमक, २२ कार्तिक–झापा, मोरङ र इलाममा छरिएर बसोबास गरिरहेका नयोङहाङ लिम्बु बन्धुहरुको एकता र सहकार्य गर्ने उदेश्यले पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल शिबसताक्षी–१० दोमुखामा वृहत भेला सम्पन्न भएको छ । आफ्नो मौलिक भाषा, संस्कार, संस्कृती, कला, धर्म र पहिचानको संरक्षण गर्दै त्यसको उत्थानमा जुटिरहेको नयोङहाङ समाज जिल्ला कार्य समिति झापा, मोरङ र इलामले दोमुखामा नयोङहाङ बन्धुहरुको भेला गरिएको हो । दोमुखास्थित माई खोलामा सामुहिक गाली श्राप गरिनुका साथै नयोङहाङ जेष्ठ नागरिकलाई मान–सम्मान गरिएको छ भने सोही अवसरमा हालै सम्पन्न दिपावलीमा आयोजित बलिहाङ तङनाम अर्थात देउसीबाट सङ्कलित रुपैया समेत सार्वजनिक गरिएको छ ।
नयोङहाङ समाजको कोष निर्माण गर्ने उदेश्यले नयोङहाङ दाजुभाईहरुबीच आयोजना गरिएको बलिहाङ तङनाम अर्थात देउसीबाट रु १ लाख ३९ हजार ७ सय २५ सङकलन भएको कार्यक्रममा जनाइएको छ । त्यस्तैं, नयोङहाङ जातीमा ७० वर्ष नाघेका १२ जना जेष्ठ नागरिकहरुलाई सो कार्यक्रममा सम्मान गरिएको थियो । सम्मानित जेष्ठ नागरिकहरुलाई संस्थाको तर्फबाट प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरिएको थियो ।
सम्मानितहरुमा वर्ष ८८ का हर्कमााया हुक्पा चोङबाङ नयोङहाङ (सुन्दरहरैचा–३ मोरङ), वर्ष ७७ का जयबहादुर नयोङहाङ (शिबसताक्षी–९ झापा), वर्ष ७५ का लालबहादुर नयोङहाङ (गौरादह–१ झापा), वर्ष ७४ का गजबहादुर नयोङहाङ (सुनवर्शी–३ मोरङ), वर्ष ७२ का मंसिरे नयोङहाङ (बुद्धशान्ति–३ झापा), वर्ष ७१ का तिलबहादुर नयोङहाङ (बाह्रदर्शी–६ झापा), वर्ष ८५ का विन्दाध्वज नयोङहाङ (चुलाचुली–३ इलाम), वर्ष ८५ का जीतमती पंधाक नयोङहाङ (उर्लाबारी–९ मोरङ), वर्ष ८४ का मनरानी नयोङहाङ सिंघक (दमक–४ झापा), वर्ष ८२ का कर्ण कुमारी नयोङहाङ (पथरी–१ मोरङ), वर्ष ७९ का सिंहवीर नयोङहाङ (चुलाचुली–३ इलाम) र जसवहादुर नयोङहाङ (सुनवर्शी–३ मोरङ) छन् ।
नयोङहाङ समाज झापा, मोरङ र इलाम जिल्ला कार्यसमितिका अध्यक्ष मानध्वोज नयोङहाङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष सुरेश नयोङहाङको प्रमुख आसनग्रहण रहेको थियो । सो अवसरमा केन्द्रिय अध्यक्ष सुरशे नयोङहाङले पानसमा बक्ति बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा नयोङहाङ समाज झापा, मोरङ र इलाम जिल्ला समितिका सल्लाहकार आश बहादुर नयोङहाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्राध्यापक तथा सतासी साप्ताहिक खबर पत्रिकाका प्रधान सम्पादक प्रेम याम्फु राई, पुजारी (सेवासावा) मोहन लिवाङ, नयोङहाङ समाज धनकुटाका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार चन्द्रबहादुर नयोङहाङ, नयोङहाङ समाज सुनसरी अध्यक्ष शान्ता यक्सो नयोङहाङ, नयोङहाङ समाजका केन्द्रिय सल्लाहकार सदस्य तथा झापा, मोरङ र इलामका सल्लाहकार प्रमुख लालबहादुर नयोङहाङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समाजका सचिव जीएन (गोपाल) नयोङहाङले सञ्चालन गर्नुभएको कार्यक्रममा शिबसताक्षीका सामाजिक अगुवा तथा पेभाकुम नेम्बाङ समाजका प्रवक्ता तथा बंशावली प्रकाशनका सम्पादक नेत्र नेम्बाङ लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा नयोङहाङ समाजको संस्थागत विकास र एकताको निम्ति योजनासहितको कार्यक्रमहरु तयारी समेत गरिएको समाज जिल्ला कार्यसमितिका सचिव तथा बुद्धिजीबि जीएन (गोपाल) नयोङहाङले जानकारी दिनुभयो । वहाँका अनुसार नयोङहाङको पुर्खाको उत्पती धनकुटाको बुढिमोरङबाट भएपनि पछिल्लो समय नयोङहाङहरु पुर्वको जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम र सङ्खुवासभामा छरिएर बसोबास गरिरहेका छन् । त्यस्तैं, रोजगारीको शिलशिलामा बिभिन्न मुलुकहरुमा समेत बसोबास गरिरहेका छन् ।
त्यसैगरी, समाजले यसअघि नयोङहाङहरुको बसोबास र जनसंख्या तथ्याङ समेत सङ्कलन गरिएको सचिव जीएन नयोङहाङले जानकारी दिनुभयो । जनगणना समितीका संयोजक समेत रहनुभएका जीएन नयोङहाङले ५ सय २ घर धुरीमा जनगणना गरिएको र जसअन्गर्त महिला (श्रीमति) को संख्या ७१८, छोराको संख्या १३७६ छन् भने छोरीको संख्यामा १३२६ जना रहेको जनाउनुभयो ।
झापामा २३६, मोरङमा ३६८, सुनसरीमा ५३९, इलाममा ८०, ताप्लेजुङमा ७९८, सङ्खुवासभामा ४४१, धनकुटामा ५३२, उपत्याका (काठमाण्डौं, भक्तपुर र ललितपुर) मा १२४ जना नयोङहाङहरु बसोबास गरिआएका छन् । त्यस्तैं, भारतको विभिन्न भूभागमा २३१ जना बसोबास गरेको जनगणनाको क्रममा बिबरण सङ्कलन गरिएको नयोङहाङ समाजका सचिव जीएनले जानकारी दिए ।
