दमक, २४ कार्तिक–आगामी मसिंर ४ गते हुने निर्वाचनमा झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित दुवै प्रदेश सभा सदस्यका उम्मेदवारलाई चुनाव जित्न चुनौती रहेको सत्ता गठबन्धन दलका उम्मेदवारहरुले बताउँदै आएका छन् ।
पटक पटक संसद विगठन र प्रदेशको संरचना नै खारेजीको माग समेत गर्दै आएको एमालेले एक्लै चुनाव लड्ने उदघोष गर्दै आएको भएपनि अन्तत निर्वाचन चुनौतीको सामना एक्लैले गर्न सकेन । फलस्वरुप अहिले एमालेले राप्रपा र जसपालगायत अरु दलहरुसंग पनि गठबन्धन गरेर चुनावमा होमिएको छ ।
बाहिर कार्यकर्ता र आम मतदातालाई आश्वस्त पार्न एमालेले आफनो संगठन बलियो रहेको तर्क पेश गर्ने गरेको भएपनि यथार्थमा एमालेले ओलीको गृह जिल्ला झापा र विशेष गरी ओलीले निर्वाचन जित्नकै लागि राप्रपासंग झापामै दुई वटा प्रदेश सभा सदस्य र एउटा संघीय निर्वाचन क्षेत्र राप्रपालाई दिएको छ ।
एकातिर भर्र्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा ओलीको क्षेत्रमा खास गरी ओलीका विश्वास पात्र भनिएकाहरुबाटै भएको अन्तर्घात, स्थानीय बिकासका एजेण्डाहरुमा एमालेले गरेको चरम राजनीतिकरण, योजनाहरुमा परेको पार्टी भित्रैका डनवादको प्रभाव र त्यही प्रभावका आधारमा ओलीका आसेपासेहरुले गरेको एक्लौटी रजगजका कारण ओलीको क्षेत्रमा एमालेप्रतिको जनविश्वास घटदो छ भने एमाले भित्रको अन्तरकलह छचल्किरहेकै छ ।
निर्वाचन क्षेत्र झापा ५ मा रहेका पालिकाहरुमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा एमाले इतरले पाएको कुल मत भन्दा एमालेले पाएको मत नै कम भएबाटै ओलीलाई चुनाव जित्न कठिन पर्ने तथ्याङकले देखाएको छ ।
यो क्षेत्र अन्तर्गतका चार पालिका मध्ये एउटा गौरादह नगरपालिका बाहेक अन्य पालिकामा एमालेले गएको निर्वाचनमा नेतृत्व गुमाइसकेको छ । दमक, गौरादह , कमल र गौरीगञ्ज गरी चारवटै पालिकाको प्रमुखमा एमालेले पाएको कूल मत ४२ हजार ७ सय ९८ छ भने यिनै पालिकामा एमाले इतरमा रहेको कांग्रेस , माओवादी र राप्रपाले पाएको मत ४७ हजार ५ सय ६६ रहेको छ ।
पालिका प्रमुखमा एमाले गठबन्धन भन्दा करिब ५ हजार मतले पछाडी छ भने यो तथ्याकंमा दमकमा एमाले इतरमा कांग्रेस, माओवादी र राप्रपा समेतले पाएको मत समावेश छ ।
अहिले एमालेसंगको राप्रपाको गठबन्धन भएपनि भर्खरैको स्थानीय चुनावमा राप्रपाले दमकमा मेयर पद जित्न एमाले इतर मुख्य गरी कांग्रेस र माओवादीकै साथ पाएका कारण तत्कालै राप्रपाका मतदाताहरुले कांग्रेस -माओवादीले मेयर पदमा राप्रपाका राम थापालाई मत दिएर लगाएको गुन बिर्र्सिइ हालेका छैनन र विर्सिइहाल्ने पक्षमा पनि देखिएका छैनन् ।
कमल गाउँपालिका अध्यक्षमा कांग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धनले पाएको मत एमालेको भन्दा ३ हजार २ सय १५ ले बढी छ । यसमा राप्रपाले पाएको ७ सय ८२ मत मध्ये एमालेलाई आधा हिस्सा मुस्किलले जाने देखिन्छ । त्यस्तै, गौरादहमा राप्रपाले १ हजार ५ सय ९० मत पाएको थियो । त्यहाँ पनि राप्रपाको शत प्रतिशत मत एमालेले पाउने देखिँदैन । राप्रपाको मुल एजेण्डा र एमालेको एजेण्डा फरक फरक भएका कारणपनि यहाँको समेत राप्रपाको आधा मत मात्रै एमालेले पाउनेछ ।
पालिकाको चुनाव गौरीगञ्जमा गठबन्धनरहित चुनाव भएको थियो । जहाँ कांग्रेसले ५ हजार ६ सय ८९ मत ल्याएर अध्यक्ष पदमा जितेको थियो । सो पालिकामा एमालेले ३ हजार ३ सय ३० ल्याएर दोश्रो भएको थियो भने राप्रपा ३ हजार ३ सय ७ ल्याएर तेस्रो भएका थिए । यो पालिकाका २ वटा वडा भने ओलीको निर्वाचन क्षेत्रमा पर्दैनन ।
यो तथ्य र तथ्याङकसंग एमाले भित्रका बौद्धिक र तथ्यमा विश्वास गर्ने नेता, कार्यकर्ताहरु सहमत छन तर अध्यक्ष ओलीको वरिपरी घुम्ने र गुमराहमा राख्न उद्यत एमाले भित्रकै एउटा समुहले भने ओलीको जित सहज रहेको भन्दै नेतृत्वलाई गुमराहमा राखिरहेको छ ।
झापा ५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका डा। खगेन्द्र पाण्डव अधिकारी फेरि आमनेसामने भएका छन् । खगेन्द्र पाण्डवले ओलीकै बोली, ब्यवहार र आचरणका कारण आफ्नो विजयी सुनिष्चित भएको दावी गर्दै आएका छन् । अघिल्लो पटकको चुनावमा एमालेसँग माओवादी केन्द्र पनि सँगै थियो भने अहिले पाण्डबलाई माओवादी केन्द्रको साथ रहेको छ ।
निल्नु न ओकल्नु भएको विकासको विभेद
एमालेलाई पछिल्लो समय चुनौती बनेको छ । यो भुगोलबाट एमालेले २०४८ साल यता संसदमा प्रतिनिधित्व गर्ने अवसर बारम्बार पाएको छ । अहिलेको क्षेत्र नं ५ अंकमा कहिले कहिं घटबढ भएपनि यो भुगोलबाट चुनिँदै संसदमा पुगेर मुलुकको प्रधानमन्त्री समेत भइसकेका छन एमाले अध्यक्ष केपी शर्मा ओली ।
उनको नेतृत्वमा मुलुकले दुई तिहाईको सरकार पनि पायो । तर यही क्षेत्रका आम नागरिकमाथि समान र न्यायपूर्ण व्यवहार हुन सकेन ।
एमालेलाई गलपासो भएको आदिवासी रंगशाला र फाल्गुनन्द सभागृह
७ सय बढी चिहान उत्खनन गरेर आदिवासी रंगशाला तथा स्मृति पार्क बनाउने एमाले, कांग्रेस माओवादीसहितका दल र सरोकारवालाहरुबीच भएको सहमति उल्टाउँदै कमल ५ मा निर्माणको चरणमा रहेको आदिवासी रंगशालाको नाममा उनै ओलीले बखेडा झिके र मदन भण्डारी रंगशाला बनाउने प्रयास गरे ।
सरोकारवालाहरुले राखेको सहमति कार्यान्वयनको मागलाई वेवास्ता गर्दै योजनानै दमक तर्फ सारे । यसरी ओलीले आफनै क्षेत्रमा पर्ने कमलका सर्वसाधारणहरुमाथि अन्याय गरे । त्यति मात्रै होइन राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको अपमान गर्दै महागुरुको नाम जोडेर दमकमा बन्दै आएको फाल्गुनन्द सभा गृहको नाममा आफू नेतृत्वको सरकारले बजेट दिन नमिल्ने भन्दै यो सभा गृहको नाम पनि फेरेर दमक सभा गृह बनाउन लगाए ।
यहाँ रतुवा र कन्काईसम्म दाहसंस्कारस्थल बनाउने योजना अघि सारे तर किराँतहरुको समाधिस्थलनै मास्न अघि सरे । एक महिना अघि कमल गाउँपालिकामा आफनै पार्टीका कार्यकर्ताहरुले दमकलाई वासिङटन जस्तो र कमललाई श्रीलंका जस्तो बनाउन खोजेको भनि ओलीमाथि कडा प्रहार गरेका थिए ।
दमकमै उनका अघि पछि लाग्ने र अनावश्यक चाकडी गर्नेहरुले विपक्षीसंगको चुनावमा अन्तर्घात गरेर पनि अवसरहरु लिन छोडेका छैनन भने ओली ठेकेदार मदन अधिकारीले ओलीसंगको पहुँचकै कारण रतुवा खोला तटबन्धनको ठेक्का वापत अढाई करोड बढी रकम पेश्की लिएर पनि कमल तर्फको भागमा डुवानको समस्या जस्ताको तस्तै छ ।
यसको असर पनि यो चुनावमा एमालेले ब्यहोर्नुपर्ने देखिन्छ भने ओलीले शिलान्यास गरेको चिनियाँ लगानीमा बन्ने भनिएको औद्योगिक पार्कको शिलान्यासपछि कुनै काम अघि बढेको छैन । त्यहाँ बरु एमालेका नेता, कार्यकर्ताहरुले खोला कुदने जग्गा सस्तोमा खरिद गरी आफना नाममा ल्याएर मुआब्जा बापत करोडौं रुपैयाँ राज्यकोषबाट लिएको आरोप पनि स्थानीयले लगाउँदै आएका छन ।
झापा ५ मा प्रदेश सभा सदस्यलाई पनि उस्तै चुनौती
दमक र लखनपुरको भुगोल समेटिएको प्रदेश सभा निर्वाचन क्षेत्र खमा एमालेबाट उम्मेदवार रहेका होमबहादुर थापा र संयुक्त गठबन्धनका गगन पुरीबीच धेरै ठूलो मतान्तर हुने देखिन्छ । युवा उमेरका पुरी माओवादी केन्द्रका प्रदेश कोषाध्यक्ष हुन भने एमालेका थापा प्रदेश कमिटी सचिवालय सदस्य हुन । थापाको तुलनामा पुरी यहाँका स्थानीय मतदाताहरुमाझ परिचित मात्रै छैनन्, चुनावी अनुभन पनि बटुलीसकेका छन् ।
यहाँका बिकासे मुद्धाहरुमा थापा भन्दा पुरी निक्कै परिचित र जानकार मात्रै होइनन बिकासे मुद्धाका योजनाकारनै पुरी भएका कारण पनि माओवादी, कांग्रेस मात्रै होइन यहाँका बिकासप्रेमी युवा, पाका सबै पुस्ताका अधिक सर्वसाधारणले पुरीको सक्रियता र योगदानको चर्चा गर्न थालेपछि एमाले भित्र अहिले खटपटी बढेको छ । एमालेभित्र ओलीको चाकडी गरेर पारिवारिक नाता र गुटले मात्रै पार्टीमा हावी गराउन खोजेको आरोपको थापाले विगतदेखिनै सामना गर्नुपरिरहेकै छ । थापा र दमकका पूर्व मेयर रोमनाथ ओली नाताले ज्वाइ जेठान हुन् ।
थापाले पूर्वप्रधानमन्त्री सचिवालयमा रहेका बेला स्थानीय चुनावमा आफूनिकटकालाई अवसर दिएको र आदिवासी जनजाति, धिमाल समुदायलाई उपेक्षा गरेको आरोपपनि छ । थापासमुहप्रति एमालेमा धेरै असन्तुष्ट छन् जसको उदाहरण स्थानीय चुनावलाई हेर्न सकिन्छ ।
पूर्व मन्त्री हिक्मत कार्कीलाई कति सहज
साविक तोपगाछी, गौरादह र गौरीगञ्जको आशिंक भूभाग समेटिएको प्रदेश सभा क्षेत्र क मा समेत एमालेका हिक्मत कार्कीलाई चुनाव जित चुनौति छ । यसअघि समेत यो क्षेत्रबाट निर्वाचित भएर मन्त्री हुँदासमेत उनले यो क्षेत्रमा समान योजना ल्याउन नसकेको आरोप उनलाई छ, आफू मन्त्री भएका बेला पनि आदिवासी रंगशालाको विवाद समाधान गर्न पहल नगरेको आरोप उनले बारबार खेपिरहेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका युवा नेता तथा उद्योगी व्यवसायीहरुको समेत नेतृत्व गरिसकेका गौरादहका जिवन राई गठबन्धनको साझा उम्मेदवारका रुपमा छन ।
