काठमाडौं (एजेन्सी), २५ कार्तिक–योग गुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जलीका पाँच औषधिमाथि भारतमा प्रतिबन्ध लगाइएको छ । पतञ्जलीले ती औषधिको ‘भ्रामक विज्ञापन’ गरेको भन्दै उत्तराखण्ड राज्यमा बिक्री वितरण गर्न नपाइने गरी प्रतिबन्ध लगाइएको हो ।
प्रतिबन्ध लगाइएका औषधिहरूमा दिव्य मधुग्रिट, दिव्यआईग्रिट गोल्ड, दिव्य थाइरोग्रिट, दिव्य बीपीग्रिट र दिव्य लिपिडोम छन् । यी मधुमेह, आँखाको संक्रमण, थाइराइड, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण गर्न प्रयोग गरिने औषधि हुन् ।
अङ्ग्रेजी पत्रिका द हिन्दूका अनुसार उत्तराखण्डको आयुर्वेदिक र युनानी सेवाका अधिकारीहरूले पतञ्जलीका उत्पादनहरू बनाउने दिव्या फार्मेसीलाई पाँचवटा औषधिको उत्पादन रोक्न भनेका छन्। साथै कम्पनीलाई यी पाँच उत्पादनका विज्ञापन मिडियाबाट हटाउन पनि निर्देशन दिइएको छ ।
द हिन्दूको रिपोर्ट अनुसार, योग गुरु रामदेवको पतञ्जली कम्पनीअन्तर्गत पर्ने यो फार्मेसीले बारम्बार ‘ड्रग्स एण्ड म्याजिक रेमेडिज एक्ट’ को उल्लंघन गर्दै आइरहेको थियो ।
नेपालवाचबाट
