काठमाडौं, २५ कार्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरूमाथि डोजर चलाउने बताएका छन्।
शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लिङदेनले उक्त कुरा बताएका हुन्।
उनले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा रहेको बताए।
उनले भने‚ ‘बालेनले काठमाडौँका अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा छ। हामीले निरन्तर भन्दै आएका छौँ, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्छौं।’
उनले नागरिक आयोग गठन गरी वि।सं।२०४६ सालपछि राज्यका उच्च पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने बताए।
अध्यक्ष लिङदेनले भ्रष्टाचारविरुद्ध आफू निरन्तर लागिरहेको उल्लेख गरे। उनले आफू संसद्मा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसद्मा साथी दिलाइदिन आम मतदातासँग आग्रह गरे। फागुनसम्म अस्तिका सबै सांसदले तलबभत्ता पाइराख्ने दशैँ पेश्की पाइराख्ने विधेयक ल्याए।
उनले भने‚ ‘एउटा राजेन्द्र लिङदेनले यो अनुचित भयो‚ योभन्दा ठूलो भ्रष्टाचार केही हुन सक्दैन। म आज संसद्मा एक्लै छु मैले तपाईंहरूलाई रोक्न सक्दिनँ। चुनाव आउँदै छ। म जनतासामु गएर आगामी दिनमा यस प्रकारका अनुचित, अनैतिक र देश विरोधी क्रियाकलाप रोक्नसक्ने तागतका साथ साथीहरू लिएर आउँछु भनी हिँडेँ। पछि फिर्ता लिएछन् ।’
आफूले पाँच वर्ष संसद्मा खेलेको भूमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारलाई पनि जिताउन उनले आग्रह गरे।
यसबाट राज्यको २ अर्ब पैसा बचेको पत्रकारहरूले भनिरहेको पनि उनले स्मरण गराए।
अध्यक्ष लिङदेनले पुराना दलहरूलाई फेरि पनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गरे। उनले काँग्रेस र कम्युनिष्ट मतदाताहरूलाई आफ्नो पार्टी नछाडे पनि राप्रपालाई मत दिन आग्रह गरे। उनले काठमाडौं र धरानको स्थानीय तहको मत परिणामजस्तै गरी राप्रपाको पक्षमा परिणाम आउनुपर्ने बताए।
उनले भने‚ ‘सक्नुहुन्छ, सोझै राप्रपामा आउनुहोस्। सक्नुहुन्न, काँग्रेस, कम्युनिष्ट इराख्नुस् तर यो चोटि हलोमा भोट हाल्नुस्।’
उनले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेकाले व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने बताए। ठूला राजनीतिक दलहरूको विकल्पको रूपमा राप्रपा रहेको उनको भनाइ छ।
