काठमाडौं, १ मंसिर–आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ ।
निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको तीन दिन अर्थात् मंसिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना बताए ।
‘सबै मतपेटिकाहरू सङ्कलन भएको लगत्तैदेखि मतगणना प्रारम्भ हुनेछ’, उनले भने, ‘तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ ।’ मंसिर २२ गतेभित्र निर्वाचनको सम्पूर्ण नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपति समक्ष बुझाउन चाहेको जनाउँदै उनले भने, ‘निर्वाचन प्रक्रियामा सबैको प्रतिबद्धता र सहयोग भएको खण्डमा त्यो सम्भव हुन्छ भन्नेमा आयोग ढुक्क छ ।’ अस्वाभाविकरूपले मतदान भएका केन्द्रलाई आयोगले विशेष सूचीमा राख्ने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन वटा सुरक्षा घेरा रहने व्यवस्था गरिएको बताए ।
उनले कुनै केन्द्रमा अप्रिय घटना भएमा ३० मिनेटभित्र नेपाली सेना पुग्ने व्यवस्था मिलाइएको जानकारी दिए । बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिँदै उनले वारेसका आधारमा मतदान गर्ने प्रवृत्तिलाई निस्तेज तुल्याइने बताए ।
आगामी दुई दिनभित्र मतदान केन्द्र निर्माणको कार्य पूरा भइसक्ने आयोगले जनाएको छ । प्रजातन्त्रको मेरुदण्डका रूपमा रहेको आवधिक निर्वाचनको मुख्य सरोकार पक्ष भनेको उम्मेदवार र मतदाता नै हुन् । सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएकाले विगतका जस्तो तडकभडक नभएको आयोगले जनाएको छ ।
यही मंसिर ४ गते देशभर एकै चरणमा हुने उक्त निर्वाचनको लगभग सम्पूर्ण तयारी पूरा भएको सो अवसरमा जानकारी दिइयो । उक्त निर्वाचनमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । यही मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका बालिग मतादाताले निर्वाचनमा मतदान गर्न पाउने छन् ।
मतदानका लागि १० हजार ८९२ मतदान स्थलमा २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ । यस्तै १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।
समानुपातिक उम्मेदवारलाई परिचय-पत्र
निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधि सभा तथा प्रदेश सभातर्फका उम्मेदवारहरूले परिचयपत्र माग गर्न आएमा परिचयपत्र उपलब्ध गराउनुपर्ने छ ।
उम्मेदवारहरूलाई आयोगको वेबसाइटमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेश अन्तर्गतको जिल्लाको खण्ड हेरी आफ्नो जिल्ला अन्तर्गतको भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरण अभिलेख राखी तोकिएको ढाँचामा परिचयपत्र उपलब्ध गराउन आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
